- डा शिवशङ्कर यादव
हामी जे खान्छौं, त्यो ऊर्जा बन्छ र विजातीय तथा नपचेका पदार्थलाई शरीरले मलको रूपमा बाहिर निकालिदिन्छ । तर ऊर्जा बन्ने कुरा त पछिको हो । त्यो बनाउनुभन्दा पहिले शरीरले कति पापड बेल्नुपर्छ, त्यो हामीले जान्दैनौं तर जान्नुपर्छ । त्यो पापड बेल्नुको पहिलो खुड्किलो हो पाचन । हामी जे पनि खान्छौं, त्यो शरीरमा अवशोषित हुँदैन । त्यसलाई अवशोषित हुन लायक बनाउने प्रक्रिया नै पाचन हो र यसको लागि प्रकृतिले शरीरमा ३० फुटको एक पाइप बनाएको छ, जुन मुखबाट शुरू भएर मलद्वारसम्म पुग्छ । यो पाइप पातलोबाट शुरू भएर क्रमशः मोटो हुँदै जान्छ र ठाउँ–ठाउँमा यसको बनावट र काम अनुसार यसको अलग–अलग नामकरण गरिएको छ । अतः एउटै पाइपको अलग–अलग नाम छन् । यसैलाई पाचननली वा पाचन संस्थान भनिन्छ । यिनका विभिन्न भाग निम्नलिखित छन्ः
मुखः हामीले जे पनि मुखबाट खान्छौं । मुखमा खाना हाल्ने बित्तिकै चपाउने क्रिया शुरू हुन्छ, जसमा ¥याल मिलेपछि पचाउने काम यहींबाट शुरू हुन्छ । ¥याल भने दुवै कानको अगाडि स्थित पैरोटिड ग्लैन्ड, चिउँडोमुनि स्थित सबमान्डिवुलर तथा जिभ्रोको मुनि स्थित सबलिन्गुअल ग्रन्थिबाट अलग–अलग नलीबाट आएको हुन्छ । यसले खानालाई बोलस बनाउँदै जान्छ र ग्रासनीमा पठाउँदै जान्छ । ¥यालमा एमाइलेज, माल्टेज र लाइपेज नामक एन्जाइमले क्रमशः स्टार्चलाई डेक्सट्रिन र माल्टोज, माल्टेजले माल्टोजलाई ग्लुकोज र लाइपेजले मिल्कफैटलाई डाइग्लिसरोलको रूपमा टुक्रयाउँछ । मुखमा खाना सानो समयको लागि मात्र हुन्छ, त्यस कारण यसको पूर्णता अगाडिको भागमा हुन्छ । त्यसैले भनिन्छ कि खानालाई खूब चपाउनुपर्छ । यो ¥याल नित्य १००० देखि १५०० मिली हामीले खाए पनि नखाए पनि निरन्तर निस्किरहन्छ । खानेबेला यसले बोलस बनाउने र पचाउने तथा नखाने बेलामा मुखलाई सुक्खा हुनबाट बचाउँछ ।
ग्रासनली ः यो पाचन संस्थानको सबैभन्दा पातलो नली हो । खानाको बोलस यसमा आउने बित्तिकै यसमा पेरिस्टाल्सिस नामक गति हुन्छ, जसले गर्दा खाना अगाडि बढेर आमाशयमा पुग्छ । पाचन संस्थानमा दुर्ई प्रकारका मुभमेन्ट देखिन्छन्– मिक्सिङ मुभमेन्ट, जसले खानालाई राम्ररी मिक्सिङ गर्ने काम गर्छ । यो ठीक कुनै रबरको बललाई थिच्ने र छोड्ने जस्तो हुन्छ । अर्को पेरिस्टाल्सिस, त्यो गति हो जसमा तलको भाग फैलिन्छ र माथिको भाग सङ्कुचित हुँदै खानालाई मुखको विपरीत दिशामा ठेल्छ । यो ठीक जुका चलेको जस्तो अगाडि बढ्दै जान्छ । यसको गति एक वा दुई सेमी प्रतिसेकेन्ड हुन्छ । ग्रासनलीको लम्बाइ २५ सेमी हुन्छ ।
आमाशय ः यो मरुभूमिमा ऊँटको व्यापारीहरूले पानी बोक्ने छालाको धोक्रो जस्तो हुन्छ र छातीमुनि पेटको बायाँपट्टि स्थित हुन्छ । यस कारणले खाना खाएपछि बायाँ कोल्टे सुत्न भनिन्छ । यसमा मिक्सिङ मुभमेन्टले खाना मिहिन बनेर भकारीको मुख जस्तै यसको साँघुरो मुख भएर बिस्तारै–बिस्तारै ड्युयोडिनममा जान्छ, यसरी आमाशय तीन घण्टामा मात्र पूरा खाली हुन्छ । खाली अवस्थामा आमाशयको क्षमता केवल ५० मिली मात्र हुन्छ तर खाँदै जाँदा यसको क्षमता चार लिटरसम्म पुग्छ । यसको भित्तामा थुप्रै प्रकारका कोषहरू हुन्छन्, जसले विभिन्न प्रकारका एन्जाइम र हाइड्रोक्लोरिक एसिड निकाल्छन् । यही एन्जाइमहरू पाचक हुन् । हाइड्रोक्लोरिक एसिडले ब्याक्टेरियालाई मार्ने र पाचनको लागि राम्रो माध्यम प्रदान गर्ने काम गर्छ । एन्जाइममध्ये मुख्य हो– पेप्सिन, जसले प्रोटिनलाई प्रोटियोज, पेप्टोन र पेप्टाइडमा बदलिदिन्छ । अर्को एन्जाइममा ग्यास्ट्रिक लाइपेज जसले बटरको ट्राइग्लिसराइडलाई फैटी एसिड र ग्लिसरोलमा, जिलेटिनेज जसले मासुको कोलेजन र जिलेटिन नामक तŒवलाई पेप्टाइडमा, ग्यास्ट्रिक एमाइलेज जसले स्टार्चलाई डेक्सट्रिन र माल्टोजमा र युरिएज जसले युरियालाई अमोनियामा बदलिदिन्छ । अवशोषणको काम यहाँ हुँदैन तर पनि बी१२ र आइरनको अवशोषण यहाँ हुन्छ ।
सानो आन्द्रा ः ड्युयोडिनम, जेजुनम र इलियम यसका तीन भाग हुन्छन् । आमाशयबाट खाना ड्युयोडिनममा आउँछ । यसको आकार अङ्ग्रेजीको यु अक्षर जस्तो २५ सेमी हुन्छ । कलेजोबाट पित्त निस्केर पित्ताशयमा जम्मा हुन्छ र चाहिएको बेला अथवा खाना ड्युयोडिनममा आइपुगेको बेला पित्ताशयबाट पित्त ड्युयोडिनममा आउँछ । कलेजोबाट नित्य ८०० देखि १२०० मिली पित्त निस्किन्छ, जसले फैटलाई पचाएर अवशोषित हुने खालको बनाउँछ । अग्नाशयबाट निस्किने एन्जाइम ट्रिप्सिन र काइमोट्रिप्सिन आदि एन्जाइम पनि यही बिन्दुमा आएर मिल्छ । अग्नाशयका एन्जाइमहरूले प्रोटिन, कार्बोहाइड्रेट र फैट सबैलाई पचाउँछ । ड्युयोडिनमबाट खाना जेजुनममा जान्छ, जसको लम्बाइ २.५ मिटर हुन्छ । जेजुनमबाट इलियममा जसको लम्बाइ ३.५ मिटर हुन्छ । सानो आन्द्रामा खानाको पाचन प्रक्रिया पूर्ण हुन्छ र यही उसको अवशोषण पनि हुन्छ । अवशोषण गर्नको लागि यसको भित्ता ठीक तौलियाको फर जस्तो निस्केको हुन्छ, जसलाई भिलाई भनिन्छ । तौलियाको संरचना यसैलाई हेरेर बनाइएको हो । यहाँ पनि विभिन्न ग्लैन्डहरू हुन्छन्, जसले फाइनल डाइजेशनको लागि निम्नलिखित एन्जाइम निकाल्छन्ः पेप्टाइडेज जसले पेप्टाइडलाई एमाइनो एसिडमा, सुक्रेज जसले सुक्रोजलाई फ्रुक्टोज र ग्लुकोजमा, लैक्टेज जसले लैक्टोजलाई ग्लैक्टोज र ग्लुकोजमा, डेक्सट्रिनेज जसले डेक्सट्रिन, माल्टोज, माल्ट्रियोजलाई ग्लुकोजमा, ट्रिहैलेज जसले ट्रिहैलोजलाई ग्लुकोजमा तथा इन्टेस्टाइनल लाइपेज जसले ट्राइग्लिसराइडलाई फैटी एसिडमा बदलिदिन्छ । यसरी कार्बोहाइड्रेटको इन्ड प्रोडक्ट ग्लुकोज, प्रोटिनको इन्ड प्रोडक्ट एमाइनो एसिड र फैटको इन्ड प्रोडक्ट फैटी एसिडको रूपमा प्राप्त हुन्छ र अवशोषण हुने लायक बन्छन्, जसबाट शरीरले ऊर्जा तयार गर्छ । पाठकवृन्द, यतिका क्लिस्ट नामहरू पढेर तपाईं दिक्क हुने सम्भावना बढी हुन्छ होला । तर आत्तिनुपर्दैन । प्रायः अन्तमा ओज लगाइयो, त्यो खानाको तŒव हुन्छ र एज लगाइयो त्यसलाई पचाउने एन्जाइम हुन्छ । जस्तै सुक्रोजलाई पचाउने एन्जाइम सुक्रेज, माल्टोजलाई पचाउने माल्टेज आदि ।
ठूलो आन्द्रा ः यसलाई कोलोन पनि भनिन्छ । यथा सिकम र एपेन्डिक्स, एसेन्डिङ कोलोन जो माथितिर जान्छ, ट्रान्सभर्स कोलोन जुन पेटको दायाँबाट बायाँको यात्रा गर्छ र डिसेन्डिङ कोलोन जुन फेरि तलतिर आउँछ र सिगम्बाइड अथवा पेल्भिक कोलोनमा खुल्छ र फाइनली रेक्टम र एनलकैनाल भएर बाहिरी द्वार बन्छ । सानो आन्द्रामा न्युट्रिएन्ट्सको अवशोषण समाप्त हुन्छ तर पानी र इलेक्ट्रोलाइटहरू जस्तै सोडियम, कोर्टिकोस्ट्रवायड र अरू केही औषधि, अल्कोहल तथा एनेस्थिसियाको अवशोषण ठूलो आन्द्रामा हुन्छ । यही बायोमहरूको कोलोनी हुन्छ, जसले बी१२ र भिटामिन ‘के’ आदि बनाउँछ । विजातीय र नपचेको भाग मलाशयमा हुन्छ र मलको रूपमा मलद्वारबाट बाहिर आउँछ । मलको रङ्ग पहेंलो पित्तको कारण र दुर्गन्ध ब्याक्टेरियाले गर्दा हुन्छ ।
एपेन्डिक्स ः सानो आन्द्रा र ठूलो आन्द्राको जक्सनमा औंला जस्तो एउटा सानो प्रोजेक्सन हुन्छ, जसलाई एपेन्डिक्स भनिन्छ । शरीरमा त यसको कुनै काम हुँदैन र काटेर फ्याँके पनि हुन्छ । तर चराहरूमा यो सिरोटिनिनको लागि महŒवपूर्ण हुन्छ । मान्छेमा पनि अब यसलाई जथाभावी नफाल्न भनिन्छ र नित्य नयाँ खोज भइरहेको छ ।
मलाशय वा रेक्टम ः यो पाचननलीको अन्तिम भाग हो, जसमा मल आएर जम्मा हुन्छ, जसको द्वार एउटा कसिलो रिङबाट कसिएको हुन्छ, जसलाई स्फिन्कटर भनिन्छ । जब यो स्फिन्कटर खुल्छ, तबमात्र मल बाहिर आउन सक्छ । यो दिनमा केवल एक वा दुर्ई पटक मात्र खुल्छ र त्यो पनि बानीमा निर्भर गर्छ । त्यसैले दिनहुँ शौच गर्ने बानी बसाल्नुपर्छ । अन्यथा मल जति ढिलोसम्म मलाशयमा रहन्छ, त्यति धेरै पानी अवशोषित हुने कारणले मल कडा हुन्छ । बल गरे पनि मल बाहिर आउँदैन, जसलाई कब्जियत भनिन्छ । पेट भरेपछि एउटा रिफ्लेक्सले मलाशय उत्तेजित हुन्छ र मल त्याग गर्ने इच्छा जाग्छ । एक गिलास पानी खाएपछि वा चिया खाएपछि यही रिफ्लेक्सले काम गर्छ र यसरी मल त्यागको बानी बसाल्नु खराब होइन । तर कसैकसैमा यसको लागि चुरोट वा खैनीको बानी हुन्छ, जुन बिल्कुल हानिकारक हो ।
हार्मोन ः पाचन संस्थानसम्बन्धी हार्मोन र काम निम्नलिखित छन्– गैस्ट्रिनः यो आमाशयबाट निस्किन्छ र आमाशयको अन्य स्राव र आमाशयको गतिशीलतालाई बढाउँछ । साथै यसले अग्नाशयको हार्मोन निकाल्न पनि अग्नाशयलाई उत्तेजित गर्छ । सिक्रिटिनः यो सबैभन्दा पहिले खोजिएको हार्मोन हो र सानो आन्द्राबाट निस्सृत हुन्छ । यसले अग्नाशयबाट जुस निकाल्छ, आमाशयको स्राव र गति कम गर्छ । कोलेसिस्टोकाइनिनः यो पनि सानो आन्द्राको कोषबाट निस्कन्छ । यसले पित्ताशय सङ्कुचित पारेर पित्त र अग्नाशयको रस निकाल्ने, आमाशयको गति कम र आन्द्राको गति बढाउँछ । यसले भोक पनि कम गर्छ । जिआइपीः यसले इन्सुलिन बढाउँछ तथा आमाशयको स्राव र गति कम गर्छ । भिआइपीः यो आमाशय र दुवै आन्द्राका कोषबाट निस्किन्छ र ग्यास्ट्रिक जुस र हाइड्रोक्लोरिक एसिड कम गर्छ तथा इन्सुलिन बढाउँछ । ग्लुकागोनः यो आमाशय, अग्नाशय र आन्द्राबाट निस्केर ब्लडसुगर बढाउँछ । ग्लाइसेन्टिनः यो ड्युयोडिनम, जेजुनमका कोषबाट निस्किन्छ र ब्लडसुगर लेभेल बढाउँछ । जिएलपी१ र जिएलपी२ ः यी ब्रेन, अग्नाशय, इलियम र कोलोनबाट निस्केर पहिलोले इन्सुलिन बढाउँछ र दोस्रोले भोक कम गर्छ ।
सङ्क्षेपमा यही हो पाचन र अवशोषणको प्रक्रिया । शरीरले यति पापड बेलेपछि बल्ल खानाले ऊर्जा उत्पादन गर्छ, जसको वर्णन छुट्टै पाठ र विषय हो । सङ्क्षेपमा यो जाने हुन्छ कि मुखमा चपाउने र बोलस बनाउने, ग्रासनलीमा केवल भोजनलाई अगाडि बढाउने, आमाशयमा मिक्सिङ गर्ने, सानो आन्द्रामा न्युट्रिएन्टको अवशोषण हुने, र ठूलो आन्द्रामा पानी अवशोषण हुन्छ । शेष भाग मलको रूपमा बाहिर निस्किन्छ । खानाको चाहिने मात्रा पुगेपछि यसको सूचना ब्रेनको हाइपोथैल्मस नामक भागमा पुग्छ र त्यहाँबाट सन्तुष्टिको भाव प्रवाहित हुन्छ । हामीलाई डकार आउँछ र खान छोड्छौं । यसैलाई सैटिइटी भनिन्छ । इति १