• उमाशङ्कर द्विवेदी

धर्मपुत्र युधिष्ठिर ब्राह्मणभक्त, सत्यवादी, जीतेन्द्रिय, गुरू र देउताको सम्मान गर्ने, सदैव धर्मपरायण, अस्त्रविद्यामा विशेष कुशल, धैर्यवान् र कृतज्ञ हुन् । उनका भाइहरू पनि बलवान् छन् र अस्त्रविद्यामा परिश्रम गरेका छन् । ती सबै बुद्धिमान्, धर्मात्मा र यशस्वी तथा उनीहरूका सम्बन्धी पनि इन्द्रको समान पराक्रमी र उनीप्रति प्रेमभाव राख्ने खालका छन् । अतः पाण्डवहरूको कहिले पनि नाश हुन सक्दैन । अर्जुन तथा भीमसेनले चाहे भने आफ्नो अस्त्रबलबाट देउता, असुर, मानिस, यक्ष, राक्षस, भूत र नागगणले युक्त सम्पूर्ण जगत्को विनाश गर्न सक्छन् । युधिष्ठिरले पनि यदि रोष भरेको दृष्टिबाट हेरे भने यस भूमण्डललाई भस्म गर्न सक्छन् । जसको बलको कुनै सीमा छैन ती भगवान् श्रीकृष्ण पनि कवच धारण गरेर तम्तयार छन्, ती शत्रुहरूलाई जित्ने साहस तिमी कसरी गर्न सक्छौ ?

यो सुनेर कर्णले हाँस्दै भने– बाहुन बाजे, तपाईंले पाण्डवहरूको विषयमा जे कुरा भन्नुभयो, त्यो सबै साँच्चै हुन् । यतिमात्र होइन, अरू पनि धेरै गुण पाण्डवहरूमा छन् । यो ठीकै हो कि उनीहरूलाई इन्द्र आदि देउता, दैत्य, गन्धर्व, यक्ष, पिशाच, नाग र राक्षसहरूले पनि जित्न सक्दैनन्, तापनि म उनीहरूमाथि विजय अवश्य नै पाउनेछु । मलाई इन्द्रले एउटा अमोघ शक्ति दिएका छन्, त्यसैद्वारा म युद्धमा अर्जुनलाई मार्नेछु । उनीहरू मरेपछि उनीहरूका सहोदर भाइहरूले कस्तै गरे पनि पृथ्वीको राज्य भोग गर्न सक्दैनन् । तिनीहरूको नाश भएपछि समुद्रसहित यो सम्पूर्ण पृथ्वी अनायास नै कुरूराजको अधीनमा भइहाल्नेछ । तपाईं स्वयम् बूढो भइसकेको हुनाले युद्ध गर्नमा असमर्थ हुनुहुन्छ, साथै पाण्डवहरूमाथि तपाईंको ठूलो स्नेह पनि छ, त्यसैले मोहवश मेरो अपमान गर्दै हुनुहुन्छ तर सम्झिराख्नुहोस्, यदि मेरो विषयमा फेरि कुनै अप्रिय कुरा मुखबाट बोल्नुभयो भने तरबारबाट तपाईंको जिब्रो काटिदिनेछु । तपाईं कौरवहरूलाई तर्साउनको लागि पाण्डवहरूको स्तुति गर्न चाहनुहुन्छ ? मैले त पाण्डवहरूको कुनै विशेष प्रभाव हेरिरहेको छैन, दुवै पक्षमा सेनाहरूको समानरूपमा संहार भइरहेको छ । जसलाई तपाईंले विशेष बलवान् ठानिरहनुभएको छ, उनीहरूको साथ म पूर्ण शक्ति लगाएर युद्ध गर्नेछु । विजय त प्रारब्धको अधीनमा छ ।

सूतपुत्र कर्णलाई आफ्नो मामाप्रति कठोर भाषण गरिरहेको हेरेर अश्वत्थामाले हातमा तरबार लिएर बडो वेगको साथ कर्णतिर झम्टे । दुर्योधनले हेर्दाहेर्दै उनी कर्णको छेउमा पुगेर अत्यन्त क्रोधित स्वरले भने– हरे नीच, मेरा मामा शूरवीर हुन् र उनी अर्जुनको साँचो गुणको कीर्तन गर्दै हुनुहुन्छ । तिम्रो अर्जुनसित द्वेष भएको कारणले उनको तिरस्कार गरिरहेका छौ । तिमीले आफू मात्रै आफ्नो शूरताको वर्णन गरिरहेका छौ तर अर्जुनले तिमीलाई हराएर तिमीले हेर्दाहेर्दै जयद्रथको वध गरेका थिए, त्यति बेला तिम्रो पराक्रम कता गएको थियो ? र कहाँ राखिएका थिए तिम्रा हातहतियार ? जसले युद्धमा साक्षात् महादेवजीलाई सन्तुष्ट गरेका छन्, उनलाई जित्न तिमीले व्यर्थ चिताइरहेका छौ । श्रीकृष्ण साथमा रहुञ्जेल अर्जुनलाई इन्द्रादि देउता र असुरहरूले पनि परास्त गर्न सक्दैनन्, अनि उनलाई तिमीले कसरी जित्न सक्छौ ? नराधम, पख, म अहिले नै तिम्रो शिर गिडिदिनेछु ।

यति भनेर अश्वत्थामा बडो वेगले कर्णतिर बढे तर स्वयम् राजा दुर्योधन र कृपाचार्यले उनलाई समातेर रोकिदिए । कर्णले भन्न थाले– यो दुर्बुद्धि नीच बाहुनले आफूलाई बडो शूर र लडाकू ठानिरहेको छ । कुरूराज, तपाईंले नरोक्नुहोस्, यसलाई छाडिदिनुहोस्, अलिक यसलाई आफ्नो पराक्रमको स्वाद चखाइदिऊँ ।

अश्वत्थामाले भने– मूर्ख, सूतपुत्र, तिम्रो यो अपराध हामीले सहन गरिलिनेछौं तर अर्जुनले तिम्रो बढेको यस घमण्डलाई अवश्य नै नाश गर्नेछन् ।

दुर्योधनले भने– भाइ अश्वत्थामा, शान्त होऊ । तिमी त अर्कालाई सम्मान दिने खालका मान्छे हौ, यस अपराधलाई क्षमा गर । तिमीले कर्णमाथि क्रोध गर्नुहँुदैन । विप्रवर मैले त तपाईं र कर्ण, कृप, द्रोण, शल्य तथा शकुनिमाथि नै यो महान् कार्यभार दिइराखेको छु ।

यस प्रकार राजाले मान गरेपछि अश्वत्थामाको क्रोध शान्त हुन पुग्यो । कृपाचार्यको स्वभाव पनि अत्यन्त कोमल थियो, उनी शीघ्र सदय भएर भने– सूतपुत्र, मैले त तिम्रो अपराधलाई क्षमा गरिदिइरहेको छु तर तिम्रो बढेको घमण्डलाई अर्जुनले अवश्य नाश गर्नेछन् ।

तदन्तर पाण्डव र पाञ्चाल वीरहरूले कर्णको निन्दा गर्दै  चारैतिरबाट एकसाथ त्यहाँ आइपुगे । कर्णमाथि उनीहरूको दृष्टि परेपछि उनीहरूले उच्च स्वरले गर्जना गर्दै भने– यो पाण्डवहरूको कट्टर शत्रु हो, महान् पापी हो । सम्पूर्ण अनर्थको जरो पनि यही नै हो । यसले दुर्योधनको जुन कुरालाई पनि सही भनिरहन्छ । यसलाइ मारिहाल । क्रमश …

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here