- बैधनाथ श्रमजीवी
मानवजीवन तथा जगत्मा हुने विभिन्न घटनाहरू मानिसहरूको लागि निकै लामो समयसम्म रहस्य जस्तै थियो । माानिसहरूले आफ्नो वरिपरि प्रत्येक दिन हेरिरहने बिहान पूर्व दिशामा सूर्योदय पश्चिम दिशामा सूर्यास्त, आकाशभरि बादल, कालो बादलबाट मुसलधारे पानी बर्सिनु, बिजुली चम्किनु र आकाशबाट धर्तीमा खस्नु, बाढी, पहिरो, आगलागी, भुइँचालो, ज्वालामुखी विस्फोट, अनिकाल, महामारी आदि इत्यादि घटनाहरूले मानिसहरूलाई हजारौंं वर्षसम्म प्रकृतिले आफूतिर आकर्षित गरिरह्यो । जन्म, विकास र मृत्युजस्ता घटनाहरूले माानिसहरूलाई झन् धेरै जिज्ञासु बनाउँदै लग्यो । टाउकोमाथि देखिने विशाल आकाश र त्यो आकाशमा राति मात्रै देखिने अनगिन्ती तारा, दिनको उज्यालोमा देखिने तारा, नदी, समुद्र र स्वयम् धर्ती जसको कतै अन्त्य देखिंदैनथ्यो, ती सबै चीजहरूले मानिसहरूलाई मनभित्र जति कौतूलहता थप्दै लग्यो, त्योभन्दा बढी प्रश्नहरूको चाङ लगाउँदै गयो । आखिर यी सबै वस्तु, घटना कसरी घट्छन् ? यसको उत्पत्ति कसरी भयो होला ? के यिनीहरूलाई मानिसले जान्न सक्छ ? यस्ता प्रश्नहरूले मानिसहरूलाई निकै लामो समयसम्म खोज र अनुसन्धान गर्न बाध्य गरिरह्यो ।
यिनै प्रश्नहरूको खोजी गर्ने क्रममा मानिसहरूले सबै प्रश्नको जवाफ खोज्न कोशिश गरे । शुरूमा ती जवाफ एउटै थियो । एउटा अदृश्य शक्ति जसलाई हामी हेर्न सक्दैनौं, जसलाई हामी जान्न सक्दैनौं, जसलाई हामी बदल्न सक्दैनौं । हो, त्यही चमत्कारी शक्तिले संसारका सबै वस्तु, घटनालगायत सबै निर्माण गरेका छन् । उसैले आफ्नो इच्छा अनुसार संसारका सबै वस्तु सञ्चालन गरिरहेको छ । त्यसैले यो संसार भनेको ईश्वरीय देन हो । ईश्वरको इच्छाविपरीत कुनै पनि काम कुरो हुन सक्दैन । ईश्वरले नै पूर्वनिर्धारित गरेका काम कुराहरू यो संसारमा घटित हुने गर्दछन् । यसको अपवाद केही पनि छैन । यस किसिमको अवधारणामा हजारौंं वर्षसम्म सम्पूर्ण मानव हिंडिराख्यो ।
सयमक्रममा मानिसहरूले प्राप्त गर्दै गएको ज्ञानको वृद्धि तथा उत्पादनको लागि बनाउँदै गएका विभिन्न प्रकारका औजारहरूले गर्दा मानिसहरूको तर्क गर्ने शक्ति पहिलेको भन्दा सबल हुन थाल्यो । यस्तोमा मानव समाजभित्र विद्यमान पुराना विचारमा कतिपय मानिसहरूले आशङ्का व्यक्त गर्न थाले । त्यति बेला यस्तो आशङ्का गर्ने व्यक्तिलाई ईश्वरविरोधी, धर्मविरोधी, नास्तिक जस्ता आरोपहरू लगाएर धर्मका ठेकेदारहरूले संसारभरि पण्डित्याइँ गर्न थाले । मृत्युदण्ड, पाशविक हत्या, ज्यूँदै जलाउने, फाँसीमा झुन्ड्याउने, विषसेवन गर्न लगाउने जस्ता दण्ड दिन पनि त्यस बेलाका धर्माचार्य, धर्मगुरू तथा राज्यले स्वाभाविकै ठाने । त्यति बेलाको ज्ञान पृथ्वीकेन्द्रित थियो । सूर्यले पृथ्वीलाई परिक्रमा गर्छ जस्तो मानिसहरूले ठानेका थिए । पृथ्वीको आकार चेप्टो छ, मानौं कुनै सुकुलजस्तो ओछ्याइएको भन्ने धारणा नै समाजमा व्याप्त थियो । सूर्यले पृथ्वीलाई परिक्रमा गर्दा नै दिन र रात हुने गर्छ भन्ने सोच मानिसहरूले सजिलै अनुभूति गरेका थिए ।
ज्ञानको बारेमा मानिसहरूको धारणा छ कि परेर जानिन्छ कि पढेर जानिन्छ । कुरा ठीकै हो । मानिसहरू जसोतसो उत्पादन प्रक्रियामा भाग लिन थाले । क्रमशः मानिसहरूको ज्ञान पनि उन्नत बन्दै गयो । पुराना पुस्ताहरूको अनुभवलाई नयाँ पुस्ताहरूले आफ्नो व्यवहारमा ढाल्दा कतिपय समस्याहरू देखिन थाले । विकास भनेकै यथास्थितिभन्दा अगाडि जानु हो । लामो समयसम्म मानिसहरूको ज्ञान संसारका सबै घटनाक्रम चमत्कारिक शक्तिमाथिको निर्भरतामा भन्ने अनुभवलाई बिस्तारै नयाँ–नयाँ प्रयोगहरूले चुनौती दिन थाले । ज्ञान जो केवल अनुभव, अनुभूति र परम्पराको निरन्तरताको गोलचक्करमा हिंड्दै थियो, त्यसभित्र प्रमाणको अभावलाई हटाएर तथ्यद्वारा प्रमाणित गरेर सत्यको बारेमा बोल्न थालेपछि विशेष ज्ञानको प्रार्दुभाव हुन पुग्यो । अब मानव समाजमा परम्परादेखि सुन्दै आइएका कुराहरू मात्रै विश्वास गरेर हिंड्ने मानिस मात्र भएनन् । कोही मानिसहरू ती कुराहरूलाई जाँच पडताल गरेर सही हो कि होइन भन्ने कुरा विभिन्न प्रमाणका आधारमा पुष्टि गर्न थालेपछि विज्ञानको ज्ञानसँग अन्धविश्वासको जगमा उभिएको ज्ञानलाई पहिलोचोटि चुनौती थपिन थाल्यो । समुद्रमा टाढाबाट आइरहेको पानीजहाजको किनारमा बस्ने मानिसले अगाडिको मस्तुल भाग मात्र पहिले किन देख्छ, जबकि पृथ्वी चेप्टो छ ? यस्ता प्रश्नहरूले ज्ञानको क्षेत्रमा पुनर्जागरण ल्यायो । पृथ्वी गोलो भएको हुनाले पानीजहाजको सम्पूर्ण भाग एकैचोटि नदेखिएको भनी तथ्यगत तर्कलाई पृथ्वी चेप्टो छ भन्नेहरूले खण्डन गर्न सकेनन् ।
त्यसैगरी, भुइँचालो भनेको शेषनाग वा कछुवाको पिठ्यूँमा पृथ्वी भएको कारणले शेषनागले आफ्नो फन (टाउको) फेर्दा वा कछुवाले आफ्नो खोलभित्रबाट हातखुट्टा झिक्दा धर्ती हल्लिन्छ र भुइँचालो आउँछ भन्ने ज्ञानलाई पृथ्वीको बनावट, उत्पत्ति र यसको भित्री अवस्था खासगरी ज्वालामुखी विस्फोट हुँदा भित्रबाट निस्किने गरेको लाभा र म्याग्मा जस्ता आगोको लेदोको अध्ययनले पृथ्वीभित्र जम्मा भइराख्ने वाष्पले माथिको प्लेटमा धक्का दिंदा वा उम्लिरहेको केन्द्रमण्डलमाथि तैरिरहेको मेटल (कडा चट्टान) एकअर्कासँग ठोक्किदा भुइँचालो तथा ज्वालामुखी विस्फोट हुने गरेको तथ्यको आधारमा विज्ञानले बाहिर ल्याएपछि मानव ज्ञान तथ्यगत ज्ञानतिर समृद्ध हुँदै गयो । बिस्तारै जगत्को बारेमा कायम रहेको विश्वासमा आधारित ज्ञान झूटो साबित भई खारेज हुने अवस्था बन्दै गयो । मानिसहरूले प्राप्त गर्दै गरेको तथ्यगत ज्ञानमा सबैभन्दा फड्को मार्ने तब उत्पन्न भयो, जब ग्यालिलियोले दूरबिनको अविष्कार गरेर पृथ्वी ब्रह्माण्डको केन्द्र होइन हामीले देखेका ग्रहहरूको केन्द्र सूर्य हो । सबै ग्रहले सूर्यलाई परिक्रमा गर्ने गर्छन् । धर्तीमा दिन र रात हुने कुरा सूर्यले पृथ्वीलाई परिक्रमा गरेर होइन बरू पृथ्वीले सूर्यको परिक्रमा गर्दा पृथ्वीको जुन भाग सूर्यतिर फर्केको हुन्छ त्यता दिन हुन्छ र जुन भाग सूर्यतिर हुँदैन त्यहाँ रात हुन्छ भन्ने तथ्यसहितको कुरा प्रमाणित ग¥यो । पृथ्वीको आकार चेप्टो भए पूरै धर्तीमा एकैचोटी दिन र रात हुन्थ्यो तर पृथ्वी गोलो भएको कारण यसको आधा भागमा मात्रै दिन हुन्छ र आधा भागमा रात हुन्छ । अर्थात् पृथ्वीको गोलो आकारको कारण जुन बेला पृथ्वीको पूर्वी भागमा दिन हुन्छ ठीक त्यही बेलामा पृथ्वीको पश्चिमी भागमा रात भइरहेको हुन्छ । पृथ्वीको गोलो आकारले गर्दा नै सबै ठाउँमा बा¥ह घण्टाको दिन र बा¥ह घण्टाको रात हुँदैन । पृथ्वीको धु्रवीय क्षेत्रमा ६ महीनाको दिन र ६ महीनाको रातसमेत हुन्छ ।
यस प्रकार मानव समाज क्रमशः विकासको चरणमा लाखौं वर्ष लगाएर ज्ञानको दिशामा अगाडि बढेको छ । स्वभावैले शुरू–शुरूमा मानव समाजसँग साधन र स्रोतको अभावले गर्दा विज्ञान र प्रविधिको अविष्कार नभइसकेको हुनाले जुन ज्ञान प्राप्त गरेका थिए, त्यो अधूरो, अप्रमाणित, अनुमानित र काल्पनिक मात्रै भएको हुनाले सारमा ती कुराहरू ज्ञानको रूपमा गलत साबित हुँदै गए । पछिल्लो पाँच सय वर्षमा मानव समाजले गरेको विज्ञान र प्रविधिमा अद्वितीय विकासले गर्दा ब्रह्माण्डको बारेमा सबैभन्दा बढी जान्न सक्षम भएका छन् । हुनत अझै पनि जान्नुपर्ने र खोज गरेर निष्कर्ष निकाल्नुपर्ने चीजहरू निकै छन् तर आधारभूतरूपमा आजको मानवसँग सृष्टिको सुरूआत र वर्तमान तथा भविष्यबारे जान्न सक्ने थुप्रै आधार विकसित भइसकेका छन् । अतः सही ज्ञान पाउन विश्वासमुखी होइन विज्ञानमुखी बन्नुपर्छ ।