दोहा, १२ साउन/एएफपी

बेलायतस्थित एक अधिकार समूहले बिहीवार फूटबल विश्वकपका क्रममा हजारौं विदेशी कामदार भर्ती गर्दै कतारका होटलहरूमा रङ्गभेद, अत्यधिक श्रमप्रति सजग रही श्रमिक अधिकार प्रत्याभूत गर्न आग्रह गरेको छ ।

नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म (चार हप्ता)को खेल प्रतियोगिताको क्रममा कतारले एक लाखभन्दा बढी आगन्तुकको आशा गरेको छ । यसमा सेवा सुविधाको कुनै प्रकारको कमी नहोस् भनी कतारले ठूलो सङ्ख्यामा अस्थायी जनशक्ति भर्ती गरेको छ ।

श्रम अधिकार अभियान संस्था इक्विडेमका अनुसार तेलका लागि धनी खाडी राष्ट्रमा प्रतियोगिता पहिले नै कामदारहरूको ‘गम्भीर श्रम शोषण र मानव अधिकारको हनन’ गरिएको समाचारहरू बाहिरिएका छन् ।

कतारले विश्वकपका लागि गरेको संरचना निर्माणमा समेत प्रवासी मजदूरको अवस्थाप्रति पटक–पटक आलोचना खेप्दै आएको छ ।

यद्यपि कतारले हालैका वर्षहरूमा ठूलो सुधार गरेको जनाउँदै आएको छ । श्रम ठगीलाई दुरुत्साहन गर्न न्यूनतम पारिश्रमिक निर्धारण गर्ने र धेरै विवादास्पद प्रणाली खारेज गर्नेजस्ता काममा सुधार गरिएको कतारले जनाएको छ । श्रमिकले रोजगार परिवर्तन गर्दा वा घर फर्किंदासमेत काम गरिराखेको कम्पनी वा फर्मको मालिकको अनुमति लिनुपर्ने भएकोले श्रमिकहरूको श्रम अधिकारको हनन हुने गरेको स्विकार्दै यसलाई सुधारेको जनाएको छ ।

विश्व फूटबलको नियामक निकाय (फिफा) ले यसै हप्ता कतारसँग ‘सहभागी टिमहरू आयोजना गर्ने सबैसहित जम्मा १५९ होटलमा श्रमिकको अधिकार र हित संरक्षण गर्न आवश्यक प्रक्रिया’ लागू गरेको पुष्टि गरेको छ ।

इक्विडेमले बताए अनुसार बङ्गलादेशीलगायत होटल श्रमिकहरूले अनुसन्धानकर्ताहरूसँग उही कामको लागि अरब राज्यका मानिसहरूको तुलनामा निकै कम ज्याला पाउने गरेको बताएका थिए ।

केन्याका सुरक्षा गार्डहरूले अन्य मुलुकको कामदारको तुलनामा अत्यधिक गर्मी (तातो) मा काम गर्न दबाब दिएको दाबी गरेको अधिकार समूहले बताएको छ । इक्विडेमका अनुसार केही कर्मचारीले ‘रोबोटजस्तै’ विनातलब अत्यधिक समय काम गर्न बाध्य भएको र कोरोना भाइरस महामारीको दौरान छुट्टिंदा धेरैले ज्याला र क्षतिपूर्ति प्राप्त नगरेको बताएका थिए । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय श्रम सङ्गठनले २० वटा ठूला होटलले गुनासो समाधानका लागि कामदार व्यवस्थापन समिति गठन गरेको तर त्योभन्दा बढी सुधार आवश्यक भएको बताएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here