धर्मेन्द्र चौरसिया, पोखरिया, ११ साउन/
ठोरीका किसानहरू धानखेती गर्दा तीनथरीबाट मारमा परेका छन्– मल रसिंचाइको अभाव तथा महँगोमा मल खरीद । अहिले धान रोपाइँ गरिसकेका किसानहरू युरिया मलको अभाव झेल्दैछन् भने धानको बीउ रोप्न बाँकी किसानहरू सिंचाइको । अधिकांश ठोरीका किसान आकाशे पानीको भरमा धान रोपाइँ गर्छन् ।
भौगोलिक विकटताले ठोरीमा आकाशे पानीको विकल्पमा कुलोहरू मात्र छन् । भूमिगत सिंचाइ यहाँ सम्भव छैन । आकाशे पानीमा आश्रित किसानहरू अहिले रोपाइँ गर्दैछन् भने रोपाइँ गरिसकेका केही किसानहरू गोडमेल गर्दैछन् । दुवैथरीक किसानलाई मलको आवश्यकता छ । ठोरीमा मलको चरम अभाव छ । सीमापारि भिखनाठोरीबाट यसअघि साढे छ सय नेरुमा मल ल्याउँदै गरेका किसानहरूले अहिले दुई हजार तिर्नुपरेको छ ।
यसअघि युरिया मल भारतमा भने भारु २५० देखि ३०० मा बिक्री हुने गरेको थियो । त्यहाँका मल व्यापारीहरूले नेपालमा मल अभाव भएको अवसरको फाइदा उठाउँदै मलको मूल्य अचाक्ली बढाएका छन् । भिखनाठोरीमैं प्रतिबोरा युरिया मल भारु एक हजारमा बिक्री हुँदैछ । ठोरी बजारसम्म ल्याउनेहरूले दुई हजारसम्ममा बिक्री गरिरहेको स्थानीय किसान विष्णु घिमिरेले बताए । उनले महँगो मूल्यमा मल खरीद गरेर खेती गर्दा लगानी नउठ्ने भयले चिन्तित बनाएको बताए ।
भर्खरै चैते धान भिœयाएकाहरूले १८ सय रुपैयाँ प्रतिक्विन्टल बिक्री गर्नुपरेको र यो मूल्य गत वर्षभन्दा पनि कम भएको उनले बताए । ठोरी गापामा अगहनी धानको रूपमा सोना मन्सुली बढी मात्रामा रोपिन्छ । घिमिरेले सोना मन्सुली धान रोपाइँ गरेको तर त्यसको परल मूल्य पनि नउठ्ने हो कि भन्ने भयले आफू चिन्तित भएको बताए । मलको अभाव छ, सिंचाइ समयमा भएको छैन, ज्यालादारी त्यत्तिकै महँगो छ । कृषि कर्म गर्नेहरूले आर्थिक व्ययभार बढी झेल्नुपरे पनि सोअनुरूपको मूल्य नपाउँदा किसानहरू चिन्तित हुनुपरेको बताए । उनले लगानी अनुसार धानको मूल्य नपाएमा आगामी वर्षदेखि धेरैले धानखेती गर्न छाड्ने बताए ।
यसैबीच पर्सेली किसानहरूले कृषि सामग्री कम्पनी वीरगंजमा प्रदर्शन गरेका छन् । कम्पनीको गोदाममा मल आएको तर किसानलाई वितरण नगरिएको भन्दै उनीहरूले बुधवार प्रदर्शन गरेका थिए । कम्पनीको मूलगेटअगाडि किसानहरूले मलको माग गर्दै प्रदर्शन गरेका हुन् । कम्पनीले मङ्गलवार किसानहरूलाई मल वितरण गरे पनि बुधवार वितरण नगरेपछि प्रदर्शन भएको हो ।