विमला गुप्ता, वीरगंज, ११ साउन/
सखुवाप्रसौनी गाउँपालिकामा आत्मसुरक्षासम्बन्धी तालीम तथा अभिमुखीकरण कार्यक्रम बुधवार वडा नं २ स्थित दीपनारायण आदर्श माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
मधेस प्रदेशका पर्सा, बारा, सिराहा जिल्लाका १० वटा पालिकामा सञ्चालन भइरहेको परियोजना अन्तर्गत आत्मसुरक्षासम्बन्धी तालीम महिला तथा किशोरीमाथि हुने हिंसा रोकथाम गर्ने उद्देश्यले आयोजना गरिएको दलित महिला केन्द्र नेपालकी सञ्चिता महर्जनले बताइन् । अहिले बलात्कारका तथा महिलामाथि हुने दुव्र्यवहार बढिरहेको बेला किशोरीहरूलाई आत्मसुरक्षासम्बन्धी तालीम दिइएको उनले बताइन् ।
उनले भनिन्, “यहाँबाट सिकेका अभ्यासहरू बालिकाहरूले आफ्नो रक्षाका लागि प्रयोग गर्न सक्छन् साथै परिवारलगायत अन्य साथीहरूलाई पनि सिकाउनेछन् । किशोरीहरू सक्षम भए महिलामाथि भइरहेको हिंसाका घटनामा कमी आउनेछ ।”
सिराहाका कराँते प्रशिक्षक कसम लामाले किशोरीहरूलाई आत्मसुरक्षासम्बन्धी तालीम दिइरहेका छन् । प्रशिक्षक लामाले कराँतेका केही चालहरू किशोरीहरूलाई सिकाउँदै छन् ।
प्रशिक्षक लामाले भने, “नेपालमा महिला हिंसा, बलात्कारका घटना दिनहुँ समाचारमा सुनिरहेका छौं । यस्तो समयमा महिलाहरूमाथि अचानक हुने घटनामा हातखुट्टाको प्रयोग गरेर आफ्नो रक्ष्Fा गर्ने अभ्यास हामीले गराउँदै छौं ।”
सोलखपुरकी मीना रामलाई आफ्नो सुरक्षा आफंैले कसरी गर्न सकिन्छ भन्नेबारे तालीम लिन पाउँदा हौसला बढेको बताइन् । एक छोरीकी आमा मीनालाई आफ्नो सन्तानको सुरक्षा कसरी गर्नेबारे जानकारी पाउँदा सचेत भएको बताइन् । अहिलेको समाजमा बढिरहेको आपराधिक गतिविधि अनुसार महिलाहरूको लागि यस प्रकारको तालीम आवश्यक रहेको उनको भनाइ छ ।
२० वर्षीया सुष्मिता चौधरीले पुरुषसरह महिलाहरू पनि बाहिरी कामकाजका लागि घरबाहिर जानुपर्ने हुनाले यस्तो अवस्थामा एकान्तमा आफूमाथि कुनै पुरुषले दुव्यवहार गरे बलबुद्धिको प्रयोग गरी बच्न सकिने जानकारी पाएको बताइन् ।
कक्षा १२ मा अध्ययनरत प्रतिमा कुमारीले ग्रामीण भेगका विद्यार्थीहरूलाई टाढा विद्यालय पुग्नुपर्ने बाध्यता हुन्छ, यस्तो अवस्थामा विद्यालय आउँदा–जाँदा अथवा विद्यालयभित्र कसैले गलत व्यवहार गरे त्यसको प्रतिकार गर्न सकिने बताइन् ।
मधेस प्रदेशको सिराहा जिल्लाका चारवटा पालिका, बाराका तीनवटा पालिका र पर्साका तीनवटा पालिका गरी यस तालीममा अहिलेसम्म तीन सयभन्दा बढी बालिकालाई दलित महिला केन्द्र नेपालले आत्मसुरक्षा प्रशिक्षण दिइसकेको छ ।