प्रस, परवानीपुर, ७ साउन/
वीरगंजमा एकजना महिला छिमेकीको कुटाइबाट घाइते भएकी छन् । घाइते हुनेमा वीरगंज–१३ मुर्ली मस्जिद टोलकी परवेज अख्तरकी पत्नी सञ्जिदा खातुन रहेकी छन् । गत शनिवार साँझ साढे ५ बजे एसीको पानी चुहिएको विषयमा विवाद हुँदा नातामा जेठाजु पर्ने अनवर मियाँ अन्सारीको परिवारजनले मुक्का र लात प्रहार गरी गम्भीर घाइते बनाएको सञ्जिदाको आरोप छ ।
उनी अहिले नेशनल मेडिकल कलेजको एसडिओ विभागमा उपचाररत छिन् । उनको टाउको र छातीमा गम्भीर चोटपटक लागेको छ । घटना घटेको एक हप्ता भएपनि सरोकारवाला निकायले कुनै चासो नदिएको उनको गुनासो छ । प्रहरी प्रशासन, अधिकारकर्मी तथा सञ्चारमाध्यममा घटनाको समाचार नआएपछि सञ्जिदाले भिडियो बनाइ फेसबूकमार्फत बताएकी हुन् ।
बकरीदको समयमा अनवर मियाँ अन्सारीको घरमा लगाएको एसीको पानी आफ्नो भान्साघरमा चुहेको विषयमा विवाद हुँदा अनवरका परिवारजनले आफूमाथि निर्घात कुटपिट गरेको सञ्जिदाले बताइन् । अनवर मियाँ अन्सारी, इस्लाम अन्सारी, अनवरकी पत्नी जैनुल खातुन, छोराहरू सागिर अन्सारी, साजिद अन्सारी, छोरी मुनचुन अन्सारीलगायतले आफूलाई मरणासन्न हुनेगरी कुटपिट गरेको उनले बताइन् ।
कुटपिटबाट गम्भीर घाइते भएकी सञ्जिदालाई निजका दाइ एजाज आलमले वडा प्रहरी कार्यालय, श्रीपुरका दुईजना सुरक्षाकर्मीको सहयोगमा नेशनल मेडिकल कलेजमा भर्ना गरेका थिए ।
सञ्जिदाका पति परवेज अख्तर सूर्य एयरलायन्समा एरोक्राफ्ट इन्जिनीयर हुन् । उनको परिवार अहिले काठमाडौंमा बस्छ । एक वर्षअगाडि पतिपत्नीबीच झगडा हुँदा पति अख्तरले पर्सा जिल्ला अदालतमा सम्बन्धविच्छेदको लागि मुद्दा दायर गरेका थिए ।
मुद्दा सुनुवाइको क्रममा अदालतको आदेशबाट आफूलाई पति अख्तरको घरमा बस्न र मासिक १२ हजार रुपैयाँ मानाचामल भराउन आदेश भएको सञ्जिदा बताउँछिन् । आफूमाथि भएको आक्रमण पतिकै परिवारको उक्साहटमा भएको हुन सक्ने उनको दाबी छ ।
यस विषयमा आज शनिवार जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतको कार्यकक्षमा दुवै पक्ष राखेर छलफल गराइएको तर सहमति नभएको बुझिएको छ । घाइते सञ्जिदा अस्पतालबाट फर्केपछि उनको बयानको आधारमा कारबाई प्रक्रिया अगाडि बढाउने प्रहरीले बताएको छ ।
कुटपिटको आरोप लागेका जेठाजु अनवर मियाँ अन्सारीले सञ्जिदाको चालचलन ठीक नभएको र आफ्नो परिवारसँग अनावश्यक विषयमा झैंझगडा गर्न आउँदा झगडा भएको बताए । उनले आफ्नो परिवारका सदस्यहरूलाई पनि सञ्जिदाले कुटपिट गरेको बताए ।