प्रस, सेढवा, ६ साउन/

नेकपा एमाले जीराभवानी गाउँपालिकाले हिजो गापा कार्यालयलाई बुझाएको ज्ञापनपत्रमा उल्लिखित मागहरू आरोप मात्र भएको गापा अध्यक्ष अनोज चौधरीले बताएका छन् ।

उनले शुक्रवार नेका जीराभवानीले बिपी स्मृति दिवसमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा हिजो नेकपा एमाले जीराभवानी गापाले बुझाएको ज्ञापनमा करार कर्मचारीहरूलाई भेदभाव गरिएको र उनीहरूलाई हटाएको आरोपमा सत्यता नभएको बताए । उनले गापाको कार्यालयमा कार्यरत कुनै पनि करार सेवाका कर्मचारीहरूलाई भेदभाव नगरिएको र कसैलाई पनि नहटाइएको प्रस्ट्याए । अध्यक्ष चौधरीले नेकपा एमाले जीराभवानीले जनमानसमा भ्रम फैलाउन प्रयास गरेको आरोप लगाए । उनले गापाले ल्याएको बजेट शतप्रतिशत जनमुखी भएको दाबी पनि गरे ।

ज्ञापनपत्रमा उल्लेख भए अनुसार किसानहरूका लागि साल्ट ट्रेडिङले उपलब्ध गराएको रासायनिक मल निष्पक्ष तवरबाट वितरण भइरहेको, पालिकामा कार्यरत कर्मचारीहरूलाई कार्यगत दक्षताको आधारमा प्रोत्साहन गर्दै आएको र कुनै पनि स्वास्थ्य स्वयंसेविकालाई नहटाइएको बताए । उनले गापाको प्रशासनिक भवन सार्वजनिक जग्गामा निर्माण गर्न उपयुक्त नहुने तर्क गरे । सार्वजनिक जग्गामा गापा भवन निर्माण गर्नु जोखिमपूर्ण हुने र आफ्नै जग्गामा भवन बनाउनु उपयुक्त हुने कार्यपालिका बैठकले निर्णय गरेको र सोही अनुरूप आफूले कदम अगाडि बढाएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here