• डा शिवशङ्कर यादव

तीन किलोको बच्चा ७३ किलोको कसरी हुन पुग्छ ? एक फुटको बच्चा छ फुटको कसरी हुन पुग्छ ? किन जवानीमा नै महिलामा ऋतुस्राव हुन्छ ? किन १८, १९ वर्ष पुगेपछि नै पुरुषमा दा¥ही–जुँगा आउँछ ? यावत् प्रश्नहरूले सर्वसाधारणको लागि केही अर्थ राख्दैन । तर वैज्ञानिकहरूले यी प्रश्नको उत्तर पाएनन् भने चैनले बस्दैनन् । चैनले बस्न नसकेर सन् १८५५ मा क्लाउड बर्नार्डले केही अङ्गहरूले रस निकाल्छन् भने । जसको नाम उनले इन्टरनल सिक्रिसन राखे । त्यसपछि सन् १८८० मा इटालियाली वैज्ञानिक निकोला पेन्डीले ती सिक्रिसन निस्किने प्रक्रियालाई इन्डोक्राइनोलोजी नाम दिए पनि यसको श्रेय सन् १९०७ मा न्यूयोर्कवासी वैज्ञानिक जिरोमी कोनमा पनि जान्छ । अर्नेस्ट स्टर्लिङले लन्डनमा लेक्चर दिंदा पहिलोपटक त्यस इन्टरनल सिक्रिसनलाई हार्मोन भनेर उच्चारण गरे । हार्मोन मतलब जीवनमा हार्मोनी ल्याउने तŒव ।

यसरी इन्डोक्राइनोलोजीको विकास हुँदै गयो र पत्ता लाग्यो कि केही ग्रन्थिहरू छन् शरीरमा जसले चुपचाप रगतमा आफ्नो तŒव छोडिदिन्छन्, जसले आफ्नो निर्धारित कोषमा पुगेर नै आफ्नो प्रभाव देखाउँछ । यसरी चुपचाप बस्ने यी ग्रन्थि जीवनमा आँधीबेहरी नै ल्याइदिन्छन् । जसरी कुनै मिसाइलले निर्धारित शहरमा नै खसेर विध्वंस मचाउँछ, त्यस्तै काम यी ग्रन्थिरसको पनि छ । आफ्नो लक्षित अङ्गमा नै यो एक्शनमा आउँछ । शरीरभरि रगतसँग दगुरिरहे पनि अन्यत्र केही गर्दैन । यसभन्दा पहिले वैज्ञानिकहरूले पत्ता लगाइसकेका थिए कि केही ग्रन्थिहरू आफ्नो रसलाई नलीद्वारा आन्द्रामा पठाएर पाचनक्रिया सम्पन्न गर्छन् । जब इन्डोक्राइन ग्रन्थि पत्ता लाग्यो, त्यसले तहलका नै मचाइदियो । टेस्टोटेरोनको पत्ता अर्नस्ट लिकरले सन् १९३५ मा लगाए । यो त्यही हार्मोन हो, जसले पुरुषमा पौरुषको लागि जिम्मेवार हुन्छ । वैज्ञानिकहरूलाई लाग्यो कि उनीहरूले पुरुषत्व र जवानीको कुँजी नै प्राप्त गरिसके । तर परिणाम निराशाजनक नै रह्यो । यस हार्मोनको प्रयोग किशोरकालमा त झन् यौन क्रियाशीलतालाई बढाइदिन्छ, जसमा उसको कुनै जरूरत नै हुँदैन । कमी भएमा पनि यसले काम गर्छ । तर जरूरत भएका अधबैंसे र बूढोमा यसको असर उल्टो आयो र भएको यौन क्रियाशीलता पनि बेपत्ता भयो । यसको मतलब यो भयो कि हार्मोनको एक्शन धेरै संवेदनशील हुन्छ र उचित मात्रा र उमेरमा नै काम लाग्छ । असलमा कुरा यो छ कि यस इन्डोक्राइन सिस्टममा फिडब्याक मेकानिज्म पाइन्छ । यसको मतलब यो हुन्छ कि जब पिट्युटरी ग्लैन्डले मेसेन्जरमार्फत टेस्टिसबाट टेस्टोटेरोन निकाल्न भन्छ, तब काम पूरा भएपछि अथवा एक निश्चित मात्रामा टेस्टोटेरोन पुगेपछि टेस्टिसले पनि पिट्युटरीलाई खबर पठाउँछ कि अब पुग्यो आफ्नो मेसेन्जरलाई कम गर । तब पिट्युटरीले आफ्नो स्रावलाई कम गरिदिन्छ । यसको मतलब एकको कमीले अर्कोलाई बढाइदिन्छ र अर्कोको कमीले पहिलोलाई बढाइदिन्छ । यदि बाहिरबाट थप टेस्टोटेरोन दिइयो भने पिट्युटरीको स्राव पूरै बन्द भएर जान्छ र यसरी उल्टो कुरा हात लाग्छ ।

प्राचीनकालमा मानिसलाई अण्डकोष र खसी बनाउने प्रक्रियाबारे थाहा थियो । अझ अँध्यारो युगमा त युद्धमा मरेको सैनिकको अण्डकोषलाई शक्ति प्राप्त गर्नको लागि युद्धरत सैनिकहरूले नै खाने गर्थे । त्यसले शक्ति दिन्छ भन्ने विश्वास थियो । आज पनि त्यसै विचारले मानिसले कुखुराको अण्डकोष खाने गर्छ । खैर जेहोस् । वैज्ञानिकहरूले दुई किसिमका ग्रन्थि पत्ता लगाए ।

एक जसले आफ्नो स्रावलाई कुनै नलीद्वारा शरीरको सतहमा पठाउँछ, जसरी अग्नाशय, कलेजो आदि । त्यसलाई एक्सोक्रिन ग्रन्थि भनियो ।

दोस्रो यसको विपरीत आफ्नो स्रावलाई सीधैं रगतमा टप्काइदिन्छ । त्यसलाई इन्डोक्राइन ग्लैन्ड वा अन्तःस्रावी ग्रन्थि भनियो । उसको स्रावलाई हार्मोन भनियो । एक्सोक्राइन ग्रन्थिको रसलाई हार्मोन भनिंदैन ।

त्यसपछि यसको सङ्ख्या पत्ता लगाइयो । शरीरका विभिन्न भागमा अवस्थित यिनको सङ्ख्या १४ वटा छन्–

पिट्युटरी–१, पिनियलबडी–१, थाइरायड–१, पाराथाइरायड–४, प्याङ्क्रियाज–१, एड्रिनल ग्रन्थि–२, टेस्टिस–२, ओभरी–२ ।

त्यसपछि यो पत्ता लाग्यो कि यी ग्रन्थिका त पूरा एक सिस्टम नै छ । यी सबैलाई नियन्त्रण गर्ने एउटा मास्टर ग्रन्थि छ, जसको अनुमतिविना कसैले काम गर्दैन । यस मास्टर ग्रन्थिलाई पिट्युटरी ग्लैन्ड वा हाइपोफाइसिस भनिन्छ, जसले ब्रेनको बेसमा सेलाटर्सिका नामक आफ्नो च्याम्बरमा नै बसी–बसी सबैको लगाम आफ्नो हातमा राख्छ । तर यसको पनि लगाम हाइपोथैल्मस नामक ब्रेनको एक भागले गर्छ । यावत् कुराले यस सिस्टमलाई मैले अद्भुत इन्डोक्राइन भनेको हुँ । अब आउनुस्, कहाँ–कहाँ कुन कुन ग्रन्थि बसेको छ, त्यसले कुन हार्मोन निकाल्छ र त्यसको काम के हो ? भन्नेबारेमा निकै संक्षेपमा जानौं–

पिट्युटरी ग्रन्थिः माथि भनिसकियो कि यो सेलाटर्सिका नामक च्याम्बरमा बस्छ । यसको दुई भाग हुन्छ– अगाडिको भाग र पछाडिको भाग । अगाडिको भागले निकाल्छ– ग्रोथ हार्मोन, जसले तीन किलो र एक फुटको बच्चालाई ७३ किलो र छ फुटको बनाउँछ ।

थाइरायड स्टिमुलेटिङ हार्मोनः जसले थाइरायडलाई आफ्नो हार्मोन निकाल्न आदेश दिन्छ । फोलिकुलर स्टिमुलेटिङ हार्मोनले पुरुषमा शुक्रकीट निर्माण बढाउँछ र महिलामा डिम्ब निर्माण गर्छ । ल्युटानाइजिङ हार्मोनले अण्डकोषलाई टेस्टोटेरोन निकाल्न भन्छ र महिलामा ओभ्युलेशन गराउँछ । पछाडिको भागले दुईटा हार्मोन निकाल्छ– एन्टीडाइयुरेटिक हार्मोन जसले सुत्ने बेलामा पिसाब बन्न कम गर्छ ताकि निद्रामा बाधा नपरोस् । आक्सिटोसिन जसले गर्भवती अवस्थाको महिलामा बच्चा पैदा हुने बेलामा पाठेघरलाई सङ्कुचन गराउँछ ताकि बच्चा छिटो बाहिर आउन सकोस् । र गर्भवती नभएको महिलामा सम्भोगको बेलामा शुक्रकीटलाई डिम्ब अथवा स्त्री अन्डासम्म पु¥याउने मदत गर्छ ।

थाइरायड ग्रन्थिः यो सबैभन्दा ठूलो इन्डोक्राइन ग्रन्थि हो, जो घाँटीको अगाडि बसेको हुन्छ, जसलाई थुक निल्दा सबैले स्पष्ट देख्न सक्छन् । यसले टी४, टी३ र क्याल्सिटोनिन हार्मोन निकाल्छ । यी हार्मोन शरीरको मेटाबोलिज्मको लागि अत्यावश्यक हुन्छ । बढी भए ग्रेभ्स डिजिज हुन्छ र कम भए क्रेटिनिज्म भनेको पुड्कोपन हुन्छ, जो मेन्टली डल हुन्छ । यसको ठीकविपरीत पिट्युटरीको ग्रोथ हार्मोनको कमीले पनि पुड्कोपन हुन्छ तर यो तेज दिमागको हुन्छ । थाइरायड हार्मोन बन्न आयोडिन जरुरी हुन्छ, जसलाई नूनमा मिलाएर उपलब्ध गराइन्छ । कमी भयो भने गलगाड नामक रोग लाग्छ ।

पाराथाइरायड ग्रन्थिः यो चारवटा हुन्छ र थाइरायड ग्रन्थिको दुवै लोवको पछाडि एउटा माथि र अर्को तल बसेको हुन्छ । यसले पैरेथोर्मोन नामक हार्मोन निकाल्छ, जसले क्याल्शियमको चयापचयमा भाग लिन्छ ।

एड्रिनल ग्रन्थिः यो दुईटा हुन्छ र दुवै मिर्गौलाको माथि महोदयहरू आसन जमाएर बसेका हुन्छन् । त्यस कारण यसलाई सुप्रारेनल ग्लैन्ड पनि भनिन्छ । यसको कार्टेक्स र मेड्युला भनेको दुईटा भाग हुन्छन् । यसले कार्टिकोस्ट्रेवाइड र सेक्स हार्मोन निकाल्छ । कार्टिकोस्ट्रोवाइडविना मानिस तीन घण्टामा मर्छ । यसले मानिसलाई आकस्मिकको लागि तयार पार्छ । जसरी यदि तपाईंको अगाडि एक्कासि साँप देखियो भने तुरुन्त कार्टिसोल निस्केर परिस्थिति अनुसार साँपलाई मार्न लगाउँछ वा भाग्न लगाउँछ । दुवैमा जीवन जोगाउने उसको लक्ष्य हुन्छ । सेक्स हार्मोन धेरै कम हुन्छ र केवल इच्छा जगाइराख्ने मात्र काम गर्छ । खसी पारेका खसीलाई पनि हामी सेक्स गतिविधि गरेको देख्छौं । त्यो यसै सेक्स हार्मोनले हुन्छ तर सेक्सको मुख्य कार्य सम्भोग यसले गर्न सक्दैन ।

प्याङ्क्रियाज अथवा अग्नाशयः यो अमाशयको पछाडि बसेको हुन्छ । यो एकै साथ इन्डोक्राइन र एक्सोक्राइन दुवै ग्रन्थि हुन् । प्याङ्क्रिएटिक जुस प्याङ्क्रिएटिक नलीबाट प्रवाहित गरेर पाचनक्रियामा भाग लिन्छ । नलिकाविहीनरूपले यसको आइसलेट अफ लैंगरहेन्स नामक भागले इन्सुलिन र ग्लुकागोन हार्मोन निकाल्छ । इन्सुलिनसँग को परिचित नहोला ? यसले चिनी पचाउँछ र पचाएन भने मधुमेह अथवा डाइबिटिज नामक रोग हुन्छ । ग्लुकागोनले ब्लडसुगर बढाउँछ, प्रोटिनलाई ग्लुकोजमा परिवर्तित गर्छ र फैटको युटिलाइजेशन बढाउँछ । यसरी अग्नाशय ९५ प्रतिशत एक्सोक्रिन र दुई प्रतिशत मात्र इन्डोक्राइन रूप हो ।

टेस्टिस ग्रन्थिः यो केवल पुरुषमा पाइन्छ र दुवै तिघ्राको बीचमा शिश्नको तल स्क्रोटम नामक छालाको सानो झोलामा बाहिर झुन्डिएको हुन्छ । यसले टेस्टोटेरोन नामक एकमात्र हार्मोन निकाल्छ । यसको काम केवल १४, १५ वर्षमा नै शुरू हुन्छ, जस कारण यौन अङ्गको विकास, यौनेच्छाको विकास, दा¥ही, जँुगा र यौन अङ्गमा रौं उमार्छ तथा आवाजलाई मोटो पार्छ । यसैको कारणले सबै पुरुषोचित गुणको विकास सम्भव हुन्छ ।

ओभरीः यो केवल महिलामा मात्र पाठेघरको दुवैपट्टि अवस्थित हुन्छ । यसको दुई हार्मोन एस्ट्रोजेन र प्रोजेस्टेरोन हुन् । पहिलोले महीनावारी गराउँछ र दोस्रोले बसिसकेको गर्भलाई टिकाइराख्ने काम गर्छ ।

पिनियल बडीः यो ब्रेनको बेसमा अवस्थित सबैभन्दा सानो केवल पाँचदेखि आठ ग्रामको मात्र हुन्छ । यसले मेलाटोनिन हार्मोन निकाल्छ, जुन निद्राको तयारीको लागि जिम्मेवार हुन्छ । यो अँध्यारोमा बन्छ र उज्यालोमा हराउँछ ।

यसको अलावा धेरै अरू हार्मोन पनि छन् जो मिर्गौला, मुटु, आमाशय र आन्द्रा आदिबाट निस्सृत हुन्छन् र लोकल हार्मोनको रूपमा अलग व्याख्याको माग गर्छ । यसमा प्रोस्टाग्लैन्डिन, एसीटाइलकोलीन, सिरोटिनिन, निस्टैग्मीन, सब्सटान्स पी, हिपैरिन र ब्रेडिकाइनिन आदिको नाम आउँछ । यसरी हामीले के हेर्छौं भने इन्डोक्राइन ग्लैन्डको वृहत्तर काम निम्नलिखित छन्– भोजनको मेटाबोलिज्ममा भाग लिने र शक्ति आर्जनमा सहयोग गर्ने । मानिसको शारीरिक लम्बाइ र मोटाइको निरूपण गर्ने । प्यास र भोकलाई नियन्त्रण गर्ने । शरीरको तापक्रमलाई नियन्त्रण गर्ने । मानिसको मूडलाई नियन्त्रण गर्ने । यौन कार्य र रिप्रोडक्शनको विकास र नियमन गर्ने ।

यसरी जब वैज्ञानिकहरूले इन्डोक्राइनको पाना पल्टाउन थाले, तब यसको अद्भुत कारनामा पत्ता लाग्दै गयो र अहिले पनि पत्ता लाग्ने क्रिया जारी छ ।

अतः यसको अध्ययनलाई तीन भागमा बाँडिएको छ, पहिलोमा इन्डोक्राइन ग्लैन्डको वर्णन हुन्छ । दोस्रोमा उसको विश्लेषणात्मक अध्ययन हुन्छ र तेस्रोमा यसलाई कसरी बनाउने भन्ने सिन्थेटिकल अध्ययन हुन्छ ।

यो पनि याद राख्नुस् कि हार्मोन रूखबिरुवामा पनि पाइन्छ । वास्तवमा यो रूखबिरुवामा पाएपछि मात्र मानिसले आफ्नो शरीरमा पत्ता लगाउन शुरू गरे र यतिको रहस्योद्घाटन तपाईंको समक्ष छ । आक्सिन र गिवरलीन दुईटाको नाम जान्नुस् । पहिलोको पत्ता डच वैज्ञानिक फ्रिट्ज वेन्टले र दोस्रोको पत्ता जैक मैकमिलन र पिजे सुटरले केराउमा लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here