- राजेश मिश्र
स्वास्थ्य उपचार सेवा शहर केन्द्रित थियो । सडक र यातायातको असुविधाको कारण आयआर्जनमा सीमित समुदाय स्वास्थ्य उपचारको लागि शहर जानु अपवादबाहेक सम्भव थिएन । त्यस कारण उपचारको आवश्यकतालाई स्थानीय जडीबुटी प्रयोग गरेर समाधान गर्ने प्रयत्न पुस्तौंदेखि हस्तान्तरण हुँदै आइरहेको थियो । यस्तो परिवेशमा प्राथमिक स्वास्थ्य उपचार सेवा गाउँमा पुग्नु अन्धकारमा मैनबत्तीको प्रकाश छाए जस्तै खुशीको क्षण थियो ।
वीरगंजको नारायणी अस्पताल स्थापना भएको वर्षौंपछि प्राथमिक स्वास्थ्य उपचार सेवा ग्रामीण क्षेत्रमा विस्तार हुने क्रममा थियो । पर्साका तत्कालीन पञ्चायतहरू क्रमशः पकहा, सतवरिया, निचुटालगायतका देहात क्षेत्रमा प्राथमिक स्वास्थ्य उपचार सेवाको थालनी भयो । भोजपुरी लोकोक्ति ‘ना मामा से काना मामा निमन’ अर्थात् ‘मामा नै नहुनुभन्दा कानो मामा भएपनि राम्रो’ भनेझैं त्यति बेला ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको प्रारम्भले समुदायमा खुशीको तरङ्ग प्रवाहित भयो ।
प्राथमिक उपचारसँगै अनमीको दरबन्दी र बहाली हुनु खासगरी महिलाहरूका लागि वरदान नै थियो । परम्परागत विधिमा निर्भर गर्भवती महिलाहरू नियमित चेकजाँच, आइरन चक्की तथा पौष्टिक आहारको फाइदाबारे अनभिज्ञ थिए । त्यस कारण गर्भवती महिलाहरूको ज्यान बढी जोखिममा थियो । यस्तो परिवेशमा नर्सले महिलाहरूसँग आफ्नो ज्ञान र सीप साझा गर्नु निकै चुनौतीपूर्ण थियो । विसं २०३५ मा निचुटा स्वास्थ्य चौकीमा अस्थायी र त्यसपछि स्थायी नियुक्ति पाई विविध स्वास्थ्य चौकीहरूमा गरी तीन दशकभन्दा बढी नर्सिङ सेवा प्रदान गरेकी उहिलेकी युवती अहिले सेवानिवृत्त भइसकेकी छन् ।
आजको यस आलेखमा ६५ वर्षीया सेवानिवृत्त नर्स सुभद्रा थापासँग भएको कुराकानीको संक्षिप्त अंश प्रस्तुत छ–
सुभद्रा थापा (सेवानिवृत्त नर्स)
म बारा जिल्लाको सदरमुकाम कलैया निवासी स्वर्गीयद्वय पोखनाथ थापा र भीमदेवी थापाका दोस्रFे सन्तान हुँ । कलैयाको कन्या माध्यमिक विद्यालयमा कक्षा आठको परीक्षा दिएर परीक्षाफलको प्रतीक्षामा थिएँ । स्वास्थ्य सेवामा प्रवेश गर्नेबारे पूर्वयोजना थिएन । विराटनगरका आफन्तले आमासँग छोरीलाई अनमी पढाउनेबारे सल्लाह दिएछन् । स्वास्थ्य सेवासँग सम्बन्धित शिक्षा हासिल गरेपछि छोरीको भविष्य उज्ज्वल हुने कुरा आफन्तले आमासँग भनेका थिए । कक्षा आठको परीक्षाफल प्रकाशित भएपछि आमाले विराटनगर जान उत्प्रेरित गर्नुभयो । म विराटनगर हानिएँ । फाराम भर्नेदेखि सबै प्रक्रिया पूरा गरें । मेरो पनि नाम प्रकाशित भयो । त्यति बेला अनमी दुई वर्षे कोर्ष थियो ।
अनमीको अध्ययन र नियुक्ति
विसं २०३२ मा अनमीमा भर्ना भएँ । १२५ रुपियाँ छात्रवृत्ति पाइन्थ्यो । किताब, कापी र खाना आदिमा खर्च गरेर १०–१२ रुपियाँ बचत पनि भइहाल्थ्यो । घरपरिवारको ममत्वबाट टाढा बस्नु चुनौतीपूर्ण भए तापनि लक्ष्य प्राप्त गर्नु उत्तिकै महŒवपूर्ण थियो । बिस्तारै नयाँ परिवेशसँगै शिक्षकशिक्षिका तथा साथीहरूसँग घुलमिल हुन थालें । विभिन्न स्थानका हामी साथीहरू एकथलोमा अध्ययनरत थियौं । हाँस्दै, खेल्दै र पढ्दै दुई वर्ष बितेको पत्तै भएन ।
अनमीको अन्तिम परीक्षा दिएर म विराटनगरबाट कलैया फर्किएँ । आजको जस्तो उहिले परीक्षाफलको जानकारी पाउनु सहज थिएन । परीक्षाफल कहिले प्रकाशित भयो ? उत्तीर्ण भएँ कि भइनँ ? आदि परीक्षाफल प्रकाशित भए लगत्तै जानकारी पाउने कुनै संसाधन थिएन । महीनौंपछि हुलाकद्वारा चिठी आएपछि थाहा पाइन्थ्यो ।
चिठी प्राप्त गरेको त्यो सुखद क्षण आज पनि मस्तिष्कमा ताजा छ । अन्य दिन जस्तै त्यस दिन पनि घरको कामकाजमा व्यस्त थिएँ । दिउँसोको समय हुलाकमार्फत चिठी प्राप्त भयो । चिठी नर्सिङ क्याम्पसबाट आएको रहेछ । घरका सबैजना एकै ठाउँमा थियौं । भित्रको कागज नच्यातियोस् भन्दै खाम सावधानीपूर्वक खोलें । खामभित्र परीक्षाफलबाहेक अरू कुनै कागज होला भन्ने पटक्कै लागेको थिएन । उत्तीर्ण छु कि अनुत्तीर्ण भन्ने कौतूहलता बढ्यो । पत्र हेरेपछि हामी सबैजना दङ्ग प¥यौं । किनभने परिणामको जानकारीसँगै अस्थायी नियुक्तिपत्र पनि संलग्न थियो । हामी सबैको मुहारमा खुशी छायो । परिवारिक माहोल उत्सवमय भयो । यसरी अनमीको पढाइसँगै नियुक्ति पाएँ ।
निचुटाको यात्रा
स्वास्थ्य चौकीमा अस्थायी नियुक्तिपत्र पाएर बहाल भएँ । त्यस बेला पहिलोपटक निचुटा गाउँको नाम सुनेकी थिएँ । कलैयाबाट निचुटा कति टाढा छ ? कताबाट जानुपर्छ ? आदि जानकारी छरछिमेकीबाट थाहा पाइयो । निचुटा प्रस्थान गर्नुभन्दा एक दिनअघि टाँगा रिजर्भ गरियो । भोलिपल्ट बिहान लत्ताकपडा र भाँडाकुँडासहित म र दाइ टाँगामा सवार भई कलैयादेखि निचुटाको यात्रा प्रारम्भ भयो । कच्ची र उबडखाबड बाटोमा यात्रा सहज थिएन । पर्साको अलौं चोकनजीक पुगेपछि टाँगाको एउटा पाङ्ग्रा भाँचियो । सडक र सवारीसाधनको सङ्कट रहेको त्यो समयमा टाँगाको पाङ्ग्रा भाँचिनु कम पीडादायक अवस्था थिएन । के गर्ने ? कसो गर्ने ? कसरी जाने ? आदि सोचेर चिन्ता बढ्यो । अन्ततः दाइले साइकलको प्रबन्ध गरे । अलौंबाट जसोतसो गरी निचुटा पुगियो ।
सेवा नै धर्म
त्यति बेला निचुटा स्वास्थ्य चौकी खपडाको घरमा सञ्चालित थियो । मैले पाएको कार्यभार सम्भालें । सेवालाई परम धर्म अँगाल्दै जिम्मेवारीपूर्वक काम गर्न थालें । एक दिन दुई दिन गर्दै समय बित्न थाल्यो । महिलाहरूलाई उपचारका लागि अस्पतालमा ल्याउने चलन अपवादबाहेक थिएन । त्यति बेला गर्भवती महिलालाई बेथा लागेमा छरछिमेकका वृद्धाहरू र सुडेनी (स्थानीय भाषामा चमइन)को संलग्नतामा बच्चा जन्माउने चलन थियो । यसो हुनुमा परम्परागत बानी बस्नु र स्वास्थ्योपचार आदिको सुविधा नहुनु नै मूल कारण थियो ।
शुरूमा मैले महिलाहरूसँग भेटघाट गर्ने र उनीहरूको समस्या बुझ्ने कार्यको थालनी गरें । निचुटाबाट शुरू गरेको जनचेतनामूलक कार्य गर्ने क्रममा आसपासका गाउँहरू मनिहर्वा, माधोपुर, प्रसौनी, सुहपुर–सोहरी, देकुलीलगायतका थुप्रै गाउँमा पुगें । अस्थायी सेवा शुरू गरेको दुई/तीन वर्षपछि लोकसेवा उत्तीर्ण गरेर निचुटा स्वास्थ्य चौकीमैं स्थायी नियुक्ति पाएँ । त्यति बेला लोकसेवाको फाराम भर्नेदेखि लिएर परीक्षा र अन्तर्वार्ता आदि सबै प्रक्रिया नारायणी अस्पतालमा सञ्चालन हुन्थ्यो ।
मैले गर्भवती महिलाहरूको स्वास्थ्य अवस्थाबारे बुझ्न खोज्दा उनीहरू लजाउँथे । घरभित्र समेत घुम्टोमा बस्ने महिलाहरूलाई अपरिचित नर्ससँग मनको कुरा व्यक्त गर्न गा¥हो थियो । अर्को के समस्या थियो भने घरका वृद्धाहरूको अनुमति र उपस्थितिमा लाज र डरको मनोविज्ञानले पनि खुलेर समस्या राख्ने चलन थिएन । यद्यपि मैले गर्भावस्थामा के के गर्नुपर्छ र के के गर्नुहुँदैनलगायतका कुराहरू बताउँथें । पटक–पटकको भेटघाटले बिस्तारै महिलाहरूले मनको कुरा व्यक्त गर्न थाले । महिलाहरूको स्वास्थ्य समस्या आफूले हासिल गरेको ज्ञान र सीप अनुसार समाधान गर्ने गर्थें । बेलैमा जाँच गराउनुभन्दा समस्या आइपरेपछि दिदी–दिदी गुहार्दै अस्पतालमा आइपुग्थे । समस्या लिएर आउनेलाई कहिल्यै निराश गरिनँ । सक्दो सेवा प्रदान गरें । रातिको बेला पनि सेवा दिन जानुपथ्र्यो । बिस्तारै समाजमा स्वास्थ्यसम्बन्धी जनचेतना फैलिन थाल्यो ।
कहिल्यै खाना नपकाएकी म जागीर गरेपछि खाना पकाउन सिकें । शुरूका केही महीना खाना नडढेको कुनै पनि दिन थिएन । पछि अभ्यस्त हुँदै गएँ । बिहानको उज्यालोमा खाना पकाउनु सजिलो भएपनि रातिको समय दियोको उज्यालोमा खाना पकाउनु त्यति सहज थिएन । उहिले उज्यालोको लागि दियो र लालटिन तथा शौचकर्मको लागि खेतबारीको विकल्प थिएन । निचुटा तथा आसपासका कुनै पनि यस्तो गाउँ नहोला, जहाँ म सेवा दिन गइनँ होला । प्रत्येक गाउँका मानिसहरूले मलाई चिन्थे । मानसम्मानमा कुनै कमी थिएन ।
सवारीसाधनको अभावमा एक ठाउँबाट अर्को ठाउँको यात्रा सजिलो थिएन । निचुटादेखि झन्डै आठ कोस टाढा कलैया जानु चानचुने कुरा थिएन । त्यसैले दशैं र तिहारलगायतका पर्वको बेला मात्र जान पाइन्थ्यो । निचुटामा झन्डै चौध वर्ष सेवा गरें ।
सरूवा र अवकाश
विसं २०४९ मा मेरो सरुवा पोखरिया तथा पोखरियामा कार्यरत नर्स रोमा लामाको सरुवा निचुटामा भयो । पोखरिया स्वास्थ्य केन्द्रमा पनि वर्षौं सेवा प्रवाह गरें । बेलाबेला पदोन्नति हुँदै पछिल्लो समय पब्लिक हेल्थ नर्स छैटौं तहमा पदोन्नति भएको थिएँ । विसं २०७२ मा अनिवार्य अवकाश पाएर अहिले सेवानिवृत्त जीवन बिताइरहेकी छु ।