नितेश कर्ण, वीरगंज, ५ साउन/

सुक्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्यको ९४.९८ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले लक्ष्यनजीक राजस्व सङ्कलन भएको बताए ।

उनले आव २०७८/७९ मा रु ५२ अर्ब ४ करोड ९९ लाख ११ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकोमा असार मसान्तसम्म रु ४९ अर्ब ४३ करोड ६५ लाख ४४ हजार सङ्कलन भएको बताए । उनले यो राजस्व सङ्कलन ९४.९८ प्रतिशत रहेको जनाएका छन् ।

आव २०७७/७८ मा भने ७२.६६ प्रतिशत मात्र राजस्व सङ्कलन भएको थियो ।

यसैबीच, गत जेठ १३ गते दुबईबाट भारतसम्म जहाजमा र भारतबाट रेलमार्ग भई वीरगंज आइपुगेको एक हजार ७७४ बोरा मासको दालको कन्टेनरमा फेला परेको चार सय कार्टुन (५० लाख खिल्ली) विदेश चुरोट सम्बन्धमा हालसम्म कारबाई अगाडि बढिरहेको र आयातकर्ताको खोजी भइरहेको सुक्खा बन्दरगाहका सूचना अधिकारी सन्तोष न्यौपानेले बताए । उनले कालिका इन्टरप्राइजेज, काठमाडौंले आयात गरेको र सोको भन्सार क्लियरिङ एजेन्टलाई भने कारबाई प्रक्रियामा ल्याएर निजको लाइसेन्स खारेज गरेको जानकारी गराए ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयले यो प्रकरणमा आयातकर्तालाई रु १० करोड जरिवाना गर्ने तयारी गरेपछि अहिलेसम्म आयातकर्ता सम्पर्कमा नआएको बताइएको छ । कानूनी प्रक्रिया अनुसार निजविरुद्ध कारबाई प्रक्रिया अगाडि बढाइएको र सम्पर्कमा आउनासाथ अथवा पक्राउ परेको खण्डमा कानून बमोजिम कारबाई हुने प्रवक्ता न्यौपानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here