प्रस, परवानीपुर, ४ साउन/
मधेस प्रदेश भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखा, वीरगंजमा अब निश्शुल्करूपमा निरोगिताको प्रमाणपत्र सिफारिश गरिने भएको छ ।
कार्यालयले जारी गरेको टेन्डरमा निश्शुल्करूपमा निरोगिताको प्रमाणपत्र दिने टेन्डर परेकोले निश्शुल्करूपमा निरोगिताको प्रमाणपत्र सिफारिश हुने भएको हो ।
कार्यालयले असार २ गते १५ दिने सूचना जारी गर्दै टेन्डर आह्वान गरेकोमा २६ जना चिकित्सकले टेन्डर भरेका थिए, जसमा निश्शुल्क निरोगिताको प्रमाणपत्र दिने भनेर डा साहिल पटेलले टेन्डर भरेको र उनकै टेन्डर स्वीकृत भएको कार्यालय प्रमुख सुशील साहले बताए ।
यसअघि सो कार्यालयमा निरोगिताको प्रमाणपत्रको लागि प्रतिव्यक्तिले रु ५० शुल्क तिर्दै आएका थिए । त्यसमा पनि व्यक्तिको उपस्थितिविना नै निरोगिताको प्रमाणपत्र जारी गर्ने गरेको भनेर चिकित्सकहरूमाथि बेलाबखत आरोप लाग्ने गरेको थियो । टेन्डर परेका चिकित्सकले अन्य चिकित्सकलाई राखेर निरोगिताको प्रमाणपत्र दिने गरेको पनि पत्रपत्रिकाहरूमा समाचार प्रकाशन भएका थिए । यी सबै कुरा सार्वजनिक भएपछि यातायातले टेन्डरबाट निरोगिताको प्रमाणपत्रको लागि माग गरेको हो । जसमा डा साहिल पटेलले निश्शुल्क सेवा दिने गरी टेन्डर भरेका थिए ।
यही टेन्डरमा एकजना चिकित्सकले प्रतिव्यक्ति एक पैसा शुल्क लिने गरी भरेका थिए भने अर्कोले प्रतिव्यक्ति रु २ लिने भरेको कार्यालयले जनाएको छ ।
निश्शुल्क निरोगिताको प्रमाणपत्र जारी गर्नुको कारण
निश्शुल्क निरोगिताको प्रमाणपत्र सिफारिश गर्ने चिकित्सकले दुई/तीन वटा शीर्षकमा पैसा कमाउने दाउमा निश्शुल्क टेन्डर भरेको बुझिएको छ । मानिसविनाको मेडिकल सिफारिश गर्ने, कलर भिजन चेकजाँच गर्दा पैसा लिएर पास गर्ने जस्ता रहेका छन् । दैनिकरूपमा लाइसेन्सको लागि चार सयदेखि पाँच सयजना सेवाग्राही आउने गरेकामा आँखाको ज्योति कमजोर भएका सेवाग्राहीमध्ये २०–३० प्रतिशत कलर भिजनमा असफल हुन्छन् । त्यस्ता व्यक्तिलाई पास गराएबापत चिकित्सकले मोटो रकम पाउँछन् ।
त्यसैगरी, सेवाग्राहीको मानसिक सन्तुलन ठीक छ/छैन सोको चेकजाँचमा पनि कमाइ हुने गरेको छ । नयाँ आवेदकहरूको रक्त समूह छुट्याउँदा पनि रकम कमाउने चिकित्सकको दाउ हुन सक्छ ।