प्रस, वीरगंज, ४ साउन/
ट्राफिक प्रहरी कार्यालय मधेस प्रदेश, पथलैयाले नेपालमैं पहिलोपटक मधेस प्रदेशमा सिसिटिभी राडार गनको प्रयोग गरेर तीव्र गतिका सवारीसाधनलाई कारबाईको सुरुआत गरेको छ । जसको परिणाम फलदायी देखिएको जनाइएको छ ।
सिसिटिभी राडार गनको प्रयोगबाट दुर्घटनाको प्रमुख कारणको रूपमा रहेको तीव्र गतिविरुद्धको कारबाईमा अधिकांश कार, जीप परेको र मधेस प्रदेशको लोकमार्ग तथा लिङ्करोडमा सवारी दुर्घटनामा कमी आएको पाइएको सो कार्यालयले जनाएको छ ।
अहिले मधेस प्रदेशका पाँच ठाउँ सप्तरीको भारदह, सिराहाको लहान, महोत्तरीको गौरीडाँडा, बाराको निजगढ र पथलैया गरी पाँच ठाउँमा सिसिटिभी राडार गन २०७८ फागुनदेखि जडान भएर तीव्र गतिका सवारीसाधनलाई कारबाई शुरू गरिएको र गत आवको चार महीनामा उत्साहजनक प्रगति देखिएको सो कार्यालयले जनाएको छ ।
सिसिटिभी राडार गनको प्रयोगबाट कारबाईमा २२५ प्रतिशत वृद्धि भएर सो बराबरको राजस्व वृद्धि भएको पथलैया ट्राफिकले जनाएको छ । सोही अवधिमा हेन्डलहेल्ड राडार गनभन्दा सिसिटिभी राडार गनको प्रयोगबाट निजी कार, जीप, यात्रुवाहक सवारीसाधनलाई तीव्र गतिविरुद्धको कारबाईमा ८०४ प्रतिशत वृद्धि भएको जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालय मधेस प्रदेश, पथलैयाले गत आवमा पाँच हजार ७०० दुर्घटनामध्ये ९० प्रतिशत दुर्घटना मोटरसाइकलबाट भएको र सो अवधिमा दुई हजार ८४९ वटा सचेतना कार्यक्रम सञ्चालन गरी तीन लाख ३९ हजार ९२८ जनालाई सचेत पारिएको जानकारी गराएको छ ।
आव २०७८/७९ मा दुई लाख ६४ हजार ३१० वटा सवारीसाधनलाई कारबाई गर्दा २२ करोड ४४ लाख ४० हजार ५०० राजस्व सङ्कलन भएको र आव २०७७/७८ को तुलनामा १७.२ प्रतिशत राजस्व वृद्धि भएको ट्राफिक प्रहरी कार्यालयले जानकारी गराएको छ ।