प्रस, वीरगंज, ३ साउन/

वन तथा वातावरण मन्त्री प्रदीप यादवले वीरगंजमा चिडियाखाना स्थापना गर्न कार्यदल गठन गरिएको बताएका छन् ।

चिडियाखानाको सम्भाव्यता अध्ययन गर्न मङ्गलवार आठ सदस्यीय कार्यदल गठन गरिएको उनले बताए । मन्त्री यादवकै सभापतित्वमा बसेको बैठकले वीरगंज–३१ सोलखपुर र वडा नं ३२ रामवनमा चिडियाखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेर १० दिनभित्र मन्त्रालयमा प्रतिवेदन प्रस्तुत गर्ने बताएको छ । प्रतिवेदन पेश गरेको एक महीनाभित्र चिडियाखाना स्थापनाको लागि काम शुरू गर्ने मन्त्री यादवले बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीको संयोजकत्वमा कार्यदल गठन गरिएको मन्त्री यादवका उपस्वकीय सचिव निखिल वर्णवालले जानकारी दिए । चिडियाखानाको स्थापनापछि पर्यटकीय गतिविधि बढ्नुका साथै वनजङ्गल संरक्षणमा पनि टेवा पुग्ने मन्त्री यादवले बताए ।

बैठकमा मुख्यमन्त्री लालबाबूराउत गद्दीले चिडियाखाना स्थापना गर्नका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए । उनले चिडियाखाना स्थापनाका लागि जग्गा उपलब्ध गराउने र बजेट व्यवस्थापन गर्न सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पनि चिडियाखाना स्थापना भएपछि पर्यटकीय गतिविधि बढ्नुका साथै वनजङ्गल अतिक्रमण रोक्न सघाउ पुग्ने र यसका लागि महानगरले निर्णय गरिसकेको जानकारी गराए ।

बैठकमा वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेल, सहसचिव धनञ्जय पौडेल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेल, वन तथा भूसंरक्षण विभागका महानिर्देशक राजेन्द्र केसीलगायतको सहभागिता थियो ।

गठित कार्यदलमा मधेस प्रदेशका वन निर्देशक, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, डिभिजन वन कार्यालय पर्साका वन अधिकृत, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत, वन तथा भूसंरक्षण विभागका सहायक वन अधिकृत र राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ प्रतिनिधि सदस्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here