प्रस, परवानीपुर, २ साउन/

मधेस प्रदेश सरकार मातहतको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत यातायात व्यवस्था कार्यालय लाइसेन्स वीरगंज शाखाले गत आव २०७८/७९ मा रु १७ करोड १५ लाख ६२ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले गत आवको साउनमा एक करोड ३२ लाख ४८ हजार, भदौमा एक करोड आठ लाख ९५ हजार, असोजमा ८४ लाख ४७ हजार, कात्तिकमा ९६ लाख ४१ हजार, मङ्सिरमा एक करोड ४२ लाख ६७ हजार, पुसमा दुई करोड चार लाख ९० हजार, माघमा एक करोड ८० लाख २० हजार, फागुनमा एक करोड ९१ लाख ४२ हजार, चैतमा दुई करोड २४ लाख ५४ हजार, वैशाखमा एक करोड १३ लाख ७२ हजार, जेठमा ९८ लाख १५ हजार र असारमा एक करोड ३७ लाख ६६ हजार गरी कुल रु १७ करोड १५ लाख ६२ हजार राजस्व सङ्कलन गरेको छ ।

जसमा नयाँ आवेदन शुल्कबापत रु दुई करोड २४ लाख १७ हजार, वर्ग थपबापत ९९ लाख ४० हजार, नयाँ लाइसेन्स शुल्कबापत तीन करोड ३० लाख ६४ हजार, दोस्रोपटक वर्ग थपबापत ६१ लाख नौ हजार, प्रतिलिपि दस्तुरबापत छ लाख ३० हजार, प्रतिलिपि तथा नवीकरण दस्तुरबापत ८९ लाख २१ हजार र लाइसेन्स नवीकरण शुल्कबापत  नौ करोड चार लाख ७९ हजार गरी रु १७ करोड १५ लाख ६२ हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख सुशील साहले जानकारी दिए ।

यो कार्यालयले गत आव २०७७/७८ मा करीब १० करोड राजस्व सङ्कलन गरेको थियो भने सोभन्दा अघिल्लो आव २०७६/७७ मा जम्मा आठ करोड मात्र राजस्व सङ्कलन गरेको थियो । 

दश लाख लटसम्मको लाइसेन्स छापेर आइसक्यो

यातायात व्यवस्था कार्यालय, लाइसेन्स शाखाले दश लाख लटसम्मको स्मार्ट लाइसेन्स छापेर वितरण कार्य शुरू भएको जनाएको छ ।

कार्यालय प्रमुखले दश लाख लटभन्दा माथिका लाइसेन्स छाप्ने क्रममा रहेको र सोभन्दा मुनिका लाइसेन्स नम्बरको छपाइ कार्य सकेर वीरगंज वितरण शाखामा आएर वितरण भइरहेको जानकारी गराए ।

स्मार्ट लाइसेन्सको छपाइ काठमाडौंबाट हुने भएकोले देशभरिका यातायात कार्यालयका लाइसेन्स छाप्न पर्याप्त मेशिन नहुँदा छपाइमा ढिलाइ हुने गरेको बताउँदै उनले पहिले एक वर्षपछि लाइसेन्स छाप्ने काम हुँदै गरेकामा पछिल्लो समय सोभन्दा कम समयमा लाइसेन्स छापेर आइरहेको
बताए ।

लाइसेन्स पाएका आवेदकहरूले लाइसेन्स (स्मार्ट कार्ड) नपाउँदासम्म बाटोमा चेकिङमा पर्दा ट्राफिकलाई  लाइसेन्स पास गरेको रसीद देखाएर सवारीसाधन चलाउन पाउँछन् । वीरगंज शाखाको मात्रै दश हजारभन्दा बढी लाइसेन्स छाप्न बाँकी रहेको बुझिएको छ भने करीब पाँच हजार थान छापेर आएका लाइसेन्स वितरण भइरहेको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here