राधेश्याम पटेल, २ साउन/

वीरगंजमा एक दशकअगाडि मिठाइपसलमा खूबै भीड लाग्थ्यो । मधेसी र मारवाडी समुदायको बढी बसोबासले शाकाहारी भोजनप्रति अधिकांशको ध्यान थियो । त्यतिबेला नाम चलेका मिठाइपसलहरूमा हिमाञ्चल केबिन, कान्छा स्वीट्स, पूजा, माखन, अनमोल, श्रीरामलगायत थिए ।

तर अहिले वीरगंजमा मांसाहारी भोजनको परिकार पस्किने सुविधासम्पन्न रेस्टुरेन्ट र क्याफेहरू धमाधम सञ्चालनमा आइरहेका छन् । वीरगंजमा डग आउट, एस लन्ज, वन एलेभेन, माल्ट, डिलाइट गो, बिएनडीलगायतका रेस्टुरेन्ट सञ्चालनमा आइसकेका छन् ।

वीरगंजमा पछिल्लो छ महीनामा थप तीनवटा सुविधासम्पन्न रेस्टुरेन्ट सञ्चालनमा आएका छन् । आदर्शनगरको आरबी कम्प्लेक्समा चिकेन स्टेशन र किङ्स लन्ज तथा लाठ गलीमा द बर्गर हाउस खुलेका छन् । आकर्षक साजसज्जामा सञ्चालनमा आएका ती रेस्टुरेन्टमा ग्राहकले गीत–सङ्गीतको खूबै आनन्द लिन्छन् ।

वीरगंजका छजना युवा उद्यमीले करीब दुई करोडको लगानीमा चिकेन स्टेशन खोलेका हुन् । गत असार ६ गते उद्घाटन भएको सो रेस्टुरेन्टमा शाकाहारी र मांसाहारी गरी दुईवटा भान्सा रहेको सञ्चालक प्रकाश गुप्ताले बताए । आरबी कम्प्लेक्सको छैटौं तला र छत गरी महीनाको रु एक लाख २० हजार भाडा तिरेर उक्त रेस्टुरेन्ट सञ्चालनमा आएको हो । अन्य दिन करीब दुई सय ग्राहकलाई सेवा दिइरहेको चिकेन हाउसले शुक्रवार, शनिवार र सार्वजनिक बिदाका दिन पाँच सय ग्राहकसम्मलाई सेवा दिने गरेको छ । रेस्टुरेन्टको आकर्षक लाइभ म्युजिक र ओपेन स्काइ डिनर रहेको छ ।

यसैगरी, सोही भवनको पहिलो तलामा वीरगंजका व्यवसायी रोशन सर्राफले डेढ करोडको लगानीमा किङ्स लन्ज सञ्चालनमा ल्याएका छन् । १९ जना कर्मचारीलाई रोजगार दिएको उक्त रेस्टुरेन्ट दिउँसो १ देखि राति १० बजेसम्म सञ्चालन हुन्छ । सो रेस्टुरेन्टले दैनिक तीन सय ग्राहकलाई शाकाहारी र मांसाहारी परिकारबाट सेवा दिइरहेको छ ।

लाठ गलीमा गत असार २४ गते ‘द बर्गर हाउस ः क्रन्ची फ्राइड चिकेन’ अत्याधुनिक डिजाइनमा सञ्चालनमा ल्याइएको यस रेस्टुरेन्टका सञ्चालकहरूले बताए । सर्लाहीकी रीताकुमारी ब्लोन (तामाङ)को एक करोड र वीरगंजका व्यवसायी वीरेन्द्र पटेल, राजु साहको एक करोड गरी दुई करोड लगानीमा सञ्चालनमा आएको यो रेस्टुरेन्टमा २९ जनाले रोजगार पाएका छन् । 

उक्त रेस्टुरेन्टले बालबालिका र युवा पुस्तालाई आकर्षित गर्ने परिकारलाई महŒव दिएको छ । रेस्टुरेन्टलाई विभिन्न आकर्षक पेन्टिङले सजाइएको छ । सो रेस्टुरेन्टमा पनि दैनिक दुई सय ग्राहक पुगिरहेको सञ्चालक वीरेन्द्र पटेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here