प्रस, पोखरिया, १ साउन/
आकाशे पानी नपरेपछि पोखरियाका महिलाहरूले इन्द्र भगवान् र ब्रह्मबाबाको पूजाआजा शुरू गरेका छन् । महिलाहरूले पानी परोस् भनेर आइतवार इन्द्र भगवान् र ब्रह्मबाबाको पूजा आराधनाको लागि पोखरिया, कालिकामाई गाउँपालिकालगायतका स्थानमा पूजाको लागि सहयोग माग गरेका छन् ।
पोखरिया नपा–६ का महिलाहरूको समूहले कालिकामाई र पोखरियामा घर–घर घुमेर चामल र रकम सङ्कलन गरेका छन् । स्थानीय सङ्गीता देवीले सङ्कलित रकम र चामलबाट इन्द्र भगवान् र ब्रह्मबाबाको पूजा आराधना गरिने बताइन् । उनले पानी नपर्दा महिलाहरूले इन्द्र भगवान् र ब्रह्मबाबाको पूजा गर्दा पानी पर्ने परम्परागत मान्यताअनुरूप आज सो कार्य गरेको बताइन् ।
महिलाहरूको समूहले टोल–टोल घुमेर सहयोग सङ्कलन गर्ने क्रममा पुरुषहरूलाई पानी र हिलो छ्यापेका थिए । पुरुषहरूलाई पानी र हिलो छ्याप्दा पानी पर्ने परम्परागत मान्यता छ ।