प्रस, सेढवा, ३१  असार/

दश दिनदेखि पानी नपरेको र दिन प्रतिदिन बढ्दै गएको गर्मी र टन्टलापुर घामका कारण पर्साको ग्रामीण जनजीवन नराम्रोसँग प्रभावित भएको छ । बिहानदेखि चर्काे घाम लाग्दा दैनिक क्रियाकलाप गर्न समस्या भएको छ । हावा नचल्ने, चर्काे घाम र अत्यधिक गर्मीका कारण स्थानीयहरू घरभित्रै उकुसमुकुस हुने र घरबाहिर निस्किएपछि पसिनाले निथ्रुक्क भिज्ने गरेका छन् । गर्मीका कारण ग्रामीण सडकहरूमा  सवारीसाधन र यात्रीहरू चाप निकै घटेको छ ।

गर्मीका कारण स्वास्थ्य समस्या बढ्यो

अत्यधिक गर्मीका कारण ग्रामीण बासिन्दाको स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखिन थालेका छन् । विशेषगरी ज्वरो, रुघाखोकी तथा चर्म रोगको प्रकोप बढेको छ । जीराभवानी गाउँपालिका–२ स्थित सेढवा स्वास्थ्य चौकीका इन्चार्ज ज्ञानकिशोर प्रसादले अहिले ज्वरो, रुघाखोकी र चर्मरोगका बिरामी बढी आउने गरेको बताए । उनले रोगीहरूमा टाउको, हातखुट्टा र जीउ दुख्ने समस्या भएको बताए ।

किसानहरू आर्थिक मारमा

पर्याप्त वर्षा नहुँदा धानको बीउ रोपाइँका लागि तयार नभएकोले अधिकांश किसान चिन्तित भएका छन् । दश दिनपहिले परेको पानीको सदुपयोग किसानहरूले गर्न सकेनन्, जसले गर्दा धानको बीउ रोपाइँका लागि तयार भएको छैन ।

रोपाइँ गर्न दमकलबाट सिंचाइ गर्नुपर्दा किसानहरूलाई थप आर्थिक भार परेको छ । डिजलको मूल्यवृद्धिले दमकलबाट सिंचाइ गर्दा निकै खर्चिलो भएको किसानहरूको भनाइ छ ।

जीराभवानी गापा–४ का किसान दिनेश चौधरीले एक बिघा खेत रोपाइँ गर्न दमकलबाट सिंचाइ गर्नुगर्दा १५ घण्टा लाग्ने र प्रतिघण्टा रु तीन सयदेखि चार सय भाडा तिर्नुपरेको बताए ।

जगरनाथपुर गापा–३ का किसान उपेन्द्र यादवले वर्षा नभएको कारण रोपाइँ भएका खेतको बाली पनि सुक्दै गएको बताए ।

पठनपाठन प्रभावित

गर्मीका कारण जिल्लाका केही पालिकाहरूले विद्यालयमा बिदा दिए पनि अधिकांश पालिकाका विद्यालय सञ्चालनमा छन् । सञ्चालनमा रहेका विद्यालयमा विद्यार्थी तथा शिक्षकहरू गर्मीका कारण सा¥है थकित हुने गरेकाले टिफिनमैं घर फर्किने गरेका छन् । ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौलीलगायत गापाका सामुदायिक तथा निजी विद्यालयहरू पनि सञ्चालनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here