प्रस, पोखरिया, ३१ असार/
पर्साको कालिकामाई गाउँपालिकाका जनप्रतिधिनिहरूबीच भागबन्डा नमिल्दा शुक्रवार भनिएको दोस्रोपटकको गाउँसभा स्थगित भएको छ ।
गाउँसभाको लागि आज दोस्रोपटक बैठक बोलाइएकोमा पुनः कुरा नमिल्दा स्थगित भएको हो । आज दुवै पक्ष बैठकमा सहभागी भएपनि कुरा नमिल्दा स्थगित भएको हो ।
गाउँपालिका अध्यक्ष वशिष्ठकुमार गुप्ता र प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले भोलि शनिबार ४ बजे बैठक हुने भनी मौखिकरूपमा घोषणा गरे पनि असन्तुष्ट पक्षले लिखितरूपमा हुनुपर्ने माग राखेपछि दुवै पक्षबीच झडप पनि भएको थियो ।
देशकै कान्छो गाउँपालिका अध्यक्ष वशिष्ठकुमार गुप्ता, उपाध्यक्ष राजमतीदेवी बरैनी र वडाध्यक्षहरूबीच बजेट बन्डामा कुरा नमिल्दा गाउँसभा स्थगित हुँदै आएको छ । गाउँपालिका अध्यक्ष गुप्ताले उपाध्यक्षलाई ५० लाख र वडाध्यक्षहरूलाई ३०/३० लाख बराबरको योजना पेश गर्न बताइरहेकाले उनीहरू मानेका छैनन् ।
गापा अध्यक्ष गुप्ताले बजेट भागबन्डा आधारमा होइन, आवश्यकताको आधारमा काम हुनुपर्ने बताइरहेका कारण कुरा मिल्न नसकेको बुझिएको छ ।
वडाध्यक्षहरूको यसअघि आफूहरूले चलाउँदै आए अनुसार योजना चलाउन पाउनुपर्ने माग रहेको छ । वडा नं २ भेडिहारीका अध्यक्ष सोनालाल चौरसियाले जनसङ्ख्याको आधारमा बजेट भागबन्डा हुनुपर्ने बताए । नत्र यसअघि आफूहरूले चलाउँदै आएको बजेट अनुसार पाउनुपर्ने उनले बताए । उनका अनुसार यसअघि एक वडाध्यक्षले रु एक करोडदेखि एक करोड ३० लाखसम्म बजेट चलाउँदै आएका थिए ।
बैठकमा झडप हुँदा वडा नं. ३ का वडाध्यक्ष पटेललगायत केही जना घाइते भएको समाचारमा जनाइएको छ ।