बलिराम शुक्ला, बिरुवागुठी, ३१ असार /
पर्साको सबैया साझेदारी वन व्यवस्थापन समूहको कार्यालयमा शुक्रवार तालाबन्दी गरिएको छ ।
सार्वजनिक सरोकार सङ्घर्ष समितिले एक महीनादेखि साझेदारीका अध्यक्ष र पदाधिकारीहरूले गरेका कामकारबाईका विरुद्धमा गरेको सङ्घर्षका कार्यक्रम अन्तर्गत १४ सूत्रीय मागको सुनवाइ नभएको भन्दै साझेदारीको मुख्य कार्यालयको द्वारमा नाराबाजी गर्दै आज तालाबन्दी गरेको हो ।
सङ्घर्ष समितिले हालसम्मको आय–व्यय सार्वजनिक गर्नुपर्ने, यथाशीघ्र साझेदारी वनको अधिवेशन गर्नुपर्ने, साझेदारीको भवन निर्माणको लागि भएको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्नुपर्ने, खेलमैदानमा भएको हस्तक्षेप फिर्ता गर्नुपर्ने, हेरालुको दरबन्दीमा भएको अनियमितता सार्वजनिक गर्नुपर्ने, हालसम्मको राजस्व दाखिला सार्वजनिक गर्नुपर्ने, साझेदारी वनमा स्थानीय समुदायको न्यायोचित प्रतिनिधित्व हुनुपर्नेलगायतका माग राखी एक महीनादेखि आन्दोलन गर्दै आएका छ ।
तालाबन्दी गरे लगत्तै गरिएको कोणसभामा समितिका अध्यक्ष अमृत बस्यालले साझेदारीले गरेका बेथितिविरुद्ध १४ सूत्रीय माग राखी एक महीनादेखि सङ्घर्षमा रहँदा पनि पदाधिकारीहरू कानमा तेल हाली सुतेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए । उनले डिभिजन वन कार्यालय, पर्सामा १४ सूत्रीय माग राखी ज्ञापनपत्र बुझाएको दुई साता हुन लाग्दा पनि कुनै सुनवाइ नभएको गुनासो गरे । कोणसभामा अधिकांश वक्ताले सबैया साझेदारीले वैज्ञानिक वनको नाममा वनविनाश गरेको कारण पानीका मुहानहरू सुक्दै गएको र वैज्ञानिक वनको नाममा लाखौं रकम अनियमितता गरेको आरोप लगाएका थिए ।
कोणसभामा सङ्घर्ष समितिकी उपाध्यक्ष सुनीता धिताल, सचिव चन्द्रबहादुर गुरुङ, स्थानीय बाबुलाल माझी, बलराम विष्ट, रामचन्द्र दास, विदुर उप्रेती, रामहरि खड्का, बलिराम साह, विशाल विष्टलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सबैया साझेदारीका अध्यक्ष लखनलाल साहसँग यस विषयमा बुझ्दा आफूले पटक–पटक वार्तामा बस्न अनुरोध गर्दासमेत सङ्घर्ष समितिले अटेर गरेको र १४ सूत्रीय माग राखी डिभिजन वन कार्यालय, पर्सामा सङ्घर्ष समितिले बुझाएको ज्ञापनपत्रको जवाफ आफूले सम्बन्धित कार्यालयहरूमा दिइसकेको कारण तालाबन्दीको कुनै तुक नरहेको बताए ।