प्रस, वीरगंज, ३१ असार/
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने षड्यन्त्र तुहिएको बताएका छन् । वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीका सङ्घीय अध्यक्ष डा बाबुराम भट्टराईलगायत केही नेताहरूले पार्टी फुटाउने अभिप्रायबाट काठमाडौंमा अवैध तरीकाबाट कार्यकारिणी समितिको बैठक बोलाएको तर त्यसमा बहुमत सिद्ध हुन नसक्दा उनीहरूको सपना तुहिएको बताए ।
पार्टीविरुद्धका गतिविधिमा संलग्न भएका कारण वीरगंजमा असार २९ र ३० गते सम्पन्न बैठकले डा भट्टराईलगायत नौजनालाई कारबाई गरेको बताए । उनीहरूको गतिविधि पार्टीको विधान र अनुशासनविरुद्ध भएकाले कारबाई गरिएको र सच्चिएर आउनेहरूलाई पार्टीको ढोका सधैं खुला रहेको बताए । अध्यक्ष यादवले सङ्घीय परिषद् अध्यक्षमा वरिष्ठ नेता अशोक राई सर्वसम्मत चयन भएको जानकारी गराए । अध्यक्ष यादवले गठबन्धनलाई आगामी सङ्घ र प्रदेशको निर्वाचनमा पनि निरन्तरता दिने बताए ।
उनले जसपाको बैठकबाट पाँच दलीय संयुक्त गठबन्धनलाई आगामी निर्वाचनमा निरन्तरता दिने निर्णय भएको जानकारी गराए ।
अध्यक्ष यादवले तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओली सरकारले दुईपटक संसद् विघटन गरेपछि परास्त गरी गठबन्धनले लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई राजनीतिक स्थिरतातर्फ अगाडि बढाएको दाबी गर्दै गठबन्धनलाई पार्टीले आवश्यक ठानेको बताए । उनले स्थानीय चुनावमा आफ्नो पार्टीको केही तीता अनुभव भएपनि मुलुकको लागि गठबन्धन आवश्यक भएको पार्टीले ठहर गरेको बताए ।
पार्टीकी केन्द्रीय सदस्य रेणु यादवले पदबाट राजीनामा दिएको सन्दर्भमा उनले यादवले पार्टी नछाडेको र आक्रोश मात्र व्यक्त गरेको बताए । यसैगरी, नागरिकता संशोधन विधेयक द्रुतमार्गबाट छिट्टै पारित हुने उनले दाबी गरे । पहिलो विधेयकमा संशोधन गरी नयाँ विधेयक संसद्मा प्रस्तुत भइसकेको र यसै अधिवेशनबाट पारित हुने उनले बताए ।
प्रस्तुत नयाँ विधेयकमा वंशज, अङ्गीकृत र जन्मसिद्धको आधारमा नागरिकता पाएका नागरिकका सन्तानले वंशजको नागरिकता पाउने प्रावधान समावेश गरिएको उनले बताए ।
पत्रकार सम्मेलनमा वन तथा वातावरण मन्त्री प्रदीप यादव, पूर्वमन्त्री रामसहाय यादव, सुशीला श्रेष्ठ, सांसद नरमाया ढकाल, वीरगंज महानगरका प्रमुख राजेशमान सिंहलगायतको सहभागिता थियो ।