धर्मेन्द्र चौरसिया, पोखरिया, ३० असार/
पर्सा जिल्लाका केही पालिकाहरूमा गर्मी बिदा दिन शुरू भएको छ । असारमा बढ्दो गर्मीसँगै तीन दिने गर्मी बिदाबाट वीरगंज महानगरपालिकाले बिदाको शुभारम्भ गरेको छ भने अहिले एक महीने गर्मी बिदा तीनवटा पालिकाले घोषणा गरेका छन् ।
पोखरिया नगरपालिकाले साउन १ देखि २८ गतेसम्मका लागि बिदा घोषणा गरेको छ । बढ्दो गर्मीका कारण एक महीने बिदा घोषणा गरिएको शिक्षा शाखा प्रमुख विजय झाले बताए । अहिले पोखरियामा बिहानीपखको कक्षा सञ्चालन हुँदै आएको छ । गर्मी बढेसँगै सामुदायिक विद्यालयहरूमा पठनपाठन प्रभावित भएको छ । कतिपय विद्यालयहरूमा पङ्खा नभएको र विद्यार्थी सङ्ख्याभन्दा बढी कक्षा कोठामा राखेर अध्यापन गराउनुपर्ने बाध्यता भएकोले खपिनसक्नु गर्मीमा समस्या भएकोले एक महीने बिदा घोषणा गरिएको हो ।
पकाहामैनपुर गापाले पनि साउन १ देखि २८ गतेसम्मका लागि बिदा घोषणा गरेको छ । शिक्षा शाखा प्रमुख दामोदर द्विवेदीले पालिकाले साउन २८ गतेसम्म सामुदायिक विद्यालयहरूमा बिदा घोषणा गरेको बताए ।
यसैगरी, धोबिनी गापाले पनि साउन २८ गतेसम्म बिदा घोषणा गरेको गापा अध्यक्ष मदन चौहानले बताए ।
गर्मीका कारण छात्राहरू बेहोश
पकाहामैनपुर गापा–३ स्थित रामचरित्र भगत माविमा अध्ययननरत छजना छात्रा बिहीवार गर्मीका कारण बेहोस भएका छन् । असार महीनामा तीन दिन मात्र पानी परेको र सोबाहेक दिनानुदिन गर्मी बढेकोले बिहीवार उनीहरू कक्षा कोठामा बेहोश भएको प्रअ छोटेलाल साहले
बताए ।
कक्षा ६ देखि ८ मा अध्ययनरत छजना छात्रा बेहोश भएको र उनीहरूको अवस्था अहिले सामान्य रहेको प्रअ साहले बताए । कक्षा ६ मा पङ्खा छैन र त्यहाँ क्ष्Fमताभन्दा बढी विद्यार्थीहरू अध्ययन गर्नाका कारण छात्राहरू बेहोश भएको उनले बताए ।
यसैगरी, कक्षा ७ र ८ मा पङ्खा भएपनि क्षमताभन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेकाले गर्मीको कारण छात्राहरू बेहोश भएको प्रअ साहले बताए । अहिले दिनानुदिन गर्मी बढ्दो छ, त्यसैले विद्यार्थीहरूको पठनपाठन बिहानीपख गरिएको छ । तर एकाबिहानैदेखि चर्को घाम लाग्दा जनजीवन प्रभावित भएको छ । छजना छात्रा बेहोश भएपछि विद्यालयले तीनवटा घण्टी सञ्चालन गरेर विद्यालय बन्द गरेको प्रअ साहले बताए । सो गापामा गापा कार्यालयले साउन १ देखि २८ गतेसम्म गर्मी बिदा घोषणा गरेको छ ।