प्रस, वीरगंज, ३० असार/
पिस फर दलित फाउन्डेशन मधेस प्रदेश पर्साले जिल्लाका तीनवटा पालिकाका चार ठाउँमा सञ्चालन गरेको निश्शुल्क ट्युशनलाई व्यवस्थित गर्ने कार्य शुरू गरेको छ ।
पिस फर दलित फाउन्डेशन नेपाल, मधेस प्रदेश, पर्साका अध्यक्ष मनोज रामले हावाहुरी, जाडो, गर्मीमा खुला आकाशमुनि सडक फूटपाथमा बसेर ट्युशन पढ्नुपर्ने बाध्यकारी अवस्थामा परिवर्तन ल्याउनको लागि जीराभवानी गाउँपालिका–४ सुपौलीमा ट्युशन घरको निर्माण शुरू गरेको बताए । उनले जीराभवानी गापा–४ सुपौलीमा १५० जना दलित बालबालिकालाई ट्युशनको व्यवस्था गरिएको तर अहिले वर्षाको मौसममा समस्या आउने देखेर व्यवस्थापन गरिएको बताए । उनले सोही ठाउँमा फुसको घरमा सडक फूटपाथमा दिइने निश्शुल्क ट्युशनलाई स्थानान्तरण गराइएको बताए ।
फाउन्डेशनले जीराभवानीका साथै सखुवाप्रसौनी गापा–३ कौवा वनकटैयामा १५० जना, सोही गापाको वडा नं ५ महुवनमा १३० जना र वीरगंज महानगर–१९ केहुनिया, विन्ध्यवासिनीमा १४० जना बालबालिकाहरूलाई निश्शुल्क ट्युशनको व्यवस्थापन गर्दै आएको छ । अध्यक्ष रामले अहिलेसम्म चारवटै स्थानमा ५७० जनालाई नियमितरूपमा चारजना शिक्ष्Fकशिक्षिकाको व्यवस्थापन गरेर ट्युशन दिइरहेको बताए ।
फाउन्डेशनका उपाध्यक्ष चन्द्रकिशोर राम, सचिव दीपेन्द्र राम, सदस्य परमानन्द राम, अशोक रामलगायतले निश्शुल्क ट्युशनमा सहयोग गर्दै आएका छन् । चारवटै स्थानमा अहिले बिहानी विद्यालय भएकाले दिउँसो ट्युशन पढाइन्छ भने अन्य बखत बिहान र बेलुका ट्युशन पढाइन्छ ।