प्रस, वीरगंज, ३० असार/
वन तथा वातावरण मन्त्री प्रदीप यादवले वन क्षेत्रभित्र रहेका अवैध बस्ती तथा क्रसर उद्योग हटाउने बताएका छन् ।
वीरगंज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सम्मान कार्यक्रममा उनले अवैध बस्तीको कारण वनविनाश हुने गरेको र अवैध क्रसर उद्योगले चुरेको दोहन गरेकाले हटाउन आवश्यक रहेको बताए ।
उनले एकातिर अर्बौंको धनराशि चुरे संरक्षणमा खर्च भइरहेको र अर्कोतिर अवैध क्रसर उद्योगले चुरेको दोहन गरिरहेको बताए । राजनीतिक संरक्षणमा माफियाहरूले लामो समयदेखि वन क्ष्Fेत्रभित्र अवैधरूपमा क्रसर उद्योग सञ्चालन गरी वनविनाशमा सहयोग पु¥याएकाले तत्कालै हटाएर समस्या समाधान गर्ने बताए ।
मन्त्रालय अन्तर्गत विभिन्न किसिमका नामकरण गरी वन कटानी हुने गरेकोप्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताए । उनले वनसँग जोडिएका झोलेछाप संस्थाहरू खारेजी प्रक्रियामा जाने बताए । जडीबुटीको रूपमा प्रयोग गर्न सकिने गाँजाको खेती सरकारी निगरानीमा आरक्ष क्षेत्रमा गर्न लगाएर राज्यको आम्दानी बढाउने बताए । अन्य देशमा औषधिको लागि गाँजाको खेती भइरहेको तर नेपालमा प्रतिबन्ध लगाउनु गलत भएको बताए । वनरक्षकहरू कामचोर भएको र उनीहरूले तत्काल बानीबेहोरामा सुधार गर्नुपर्ने नत्र जागीरबाट हट्नुपर्ने बताए । वन कर्मचारीहरू जनताको नाममा हजारौं क्युफिट काठ कटान गरी माफियामार्फत बिक्री गरिरहेको आफूले जानकारी पाएको र सो कार्य तत्काल रोक्ने बताए ।
कार्यक्रममा मधेस प्रदेशका खानेपानी तथा ऊर्जा मन्त्री ओमप्रकाश शर्माले वीरगंजलाई हरित बनाउन आवश्यक रहेको बताए । विज्ञ खटाएर कुन प्रजातिको बिरुवा लगाउँदा वातावरणमा प्रत्यक्षरूपमा सहयोग पुग्छ, त्यस्ता बिरुवा रोपण गर्नुपर्ने बताए । प्रदेश सरकारले पनि स्थानीय सरकारमार्फत वृक्षारोपण कार्यक्रम ल्याएको तर त्यो फलदायी नभएको बताए ।
वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले वीरगंजका सबै सडकपेटीमा विज्ञको सल्लाह अनुसार वृक्षारोपण गर्ने बताए ।
वीउवासङ्घका अध्यक्ष सुबोध गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेश वाणिज्य सङ्घका अध्यक्ष गणेश लाठ, पूर्वअध्यक्ष अशोक बैद, अशोक टेमानी, प्रदीप केडिया, गोपाल केडियालगायतले मन्तव्य व्यक्त गरेका थिए ।