प्रस, परवानीपुर, २९ असार/
अवैधरूपमा नेपाली नागरिकता लिएर एकजना भारतीय नागरिकले वीरगंजमा करोडौंको अकुत सम्पत्ति जोडेका छन् । भारत, बिहार, पूर्वी चम्पारण जिल्ला अन्तर्गत रक्सौल, परेउवा–१ स्थायी घर भई आयुर्वेदिक चिकित्सक भनेर चिनिने डा देवेशचन्द्र पाठकको परिवारले वीरगंजमा करोडौंको सम्पत्ति जोडेको तथ्य फेला परेको छ ।
पाठकले जिल्ला प्रशासन कार्यालय, रौतहटबाट २०२५ असार २९ गते १६ वर्षको उमेर भनेर वंशजको नागरिकता लिएका थिए । उनको नेपाल र भारतमा दोहोरो नागरिकता फेला परेको छ ।
उनको परिवारका सदस्यले नेपाल र भारतमा हुने हरेक चुनावमा मतदान पनि गर्दै आएका छन् । र जग्गा, घर र आर्थिक कारोबार पनि गर्दै आएका छन् । उनको नागरिकताको वैधानिकताको विषयमा जिल्ला प्रशासन कार्यालय, रौतहटमा उजूरीसमेत परेको छ ।
तर पैसा र पहुँचको आधारमा उनी नेपालको कानूनबाट बच्दै आएको स्रोतको दाबी छ । उनका तीनजना छोरा छन् । जसमध्ये कान्छा छोरा रमेश पाठकले पनि इलाका प्रशासन कार्यालय, चन्द्रपुर, रौतहटबाट २०५७/०१/०९ गते वंशजको नागरिकता लिएको खुलेको छ ।
जिल्ला आयुर्वेद कार्यालय, पर्साको प्रमुखको जिम्मेवारी पनि सम्हालिसकेका डा पाठककी पत्नी पनि भारतीय नागरिक भएको र उनले पनि नेपाली नागरिकता लिइसकेको बुझिएको छ ।
बिहार, मुजफ्फरपुर जिल्ला, थाना मीनपुरा, मथुरा डिहकी उर्मिला पाठकको नाममा पनि नेपाल र भारतमा करोडौंको सम्पत्ति रहेको बुझिएको छ ।
डा पाठककी माइली बुहारी डा राधिका रानु पाठकको पनि नेपाली नागरिकता रहेको बुझिएको छ । उनको घर भारत, बिहार, दरभङ्गा जिल्लाको सहरसा हो । उनी हाल वीरगंजको नगवास्थित स्वास्थ्य चौकीमा आयुर्वेदिक चिकित्सकको रूपमा कार्यरत छिन् । पाठक परिवारले नेपाल र भारतमा करोडौंको सम्पत्ति जोडेको स्रोतले बताएको छ ।
वीरगंज–१० प्रगतिनगर, स्वीमिङ पुलको छेउमा २२ धुर जग्गामा चार तले घर, उक्त घरमा चन्द्र आयुर्वेद प्रालि कारखाना सञ्चालनमा रहेको छ भने घरको छेउमैं थप १० धुर जग्गा पनि खरीद गरेका छन् । उक्त जग्गा र घर करीब डेढ करोडको रहेको बुझिएको छ । त्यसैगरी, रक्सौलमा पनि सो परिवारको घर रहेको बुझिएको छ ।
डा पाठकका जेठा छोरा सन्तोषकुमार पाठक वीरगंजकै एक औद्योगिक प्रतिष्ठानमा काम गर्छन् भने माइला छोरा आशुतोषकुमार पाठक सिमराको होटलमा कार्यरत छन् । कान्छा छोरा रमेश पाठक पछिल्लो समय नारायणघाटको एक होटलमा सेल्स तथा मार्केटिङ पदमा कार्यरत थिए । उक्त परिवारको माईस्थानमा पुरानो सहारा आयुर्वेदिक पसल पनि सञ्चालनमा रहेको छ ।
नागरिकताको विषयमा छानबीन हुँदा उक्त परिवार रक्सौलमा गएर शरण लिने गरेको र छानबीन सFम्य भएपछि पुनः वीरगंज फर्केर आफ्नो कारोबार गरेर प्रशासनलाई झुक्याउने गरेको छ ।