कोलम्बो, श्रीलङ्का, २९ असार/सिन्ह्वा
श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्ष बुधवार माल्दिभ्सको भेलाना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
माल्दिभियाली सञ्चारमाध्यमलाई उद्धृत गर्दै राष्ट्रपति गोटाबाया राजापाक्ष आफ्नी पत्नी र एक अङ्गरक्षकसँग एन्टोनोभ–३२ सैन्य विमानमा माल्दिभ्स गएको प्रधानमन्त्रीको कार्यालय स्रोतलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
राजपाक्षले सोमवार आफ्नो राजीनामापत्रमा हस्ताक्षर गरेका र उक्त राजीनामापत्र सभामुखलाई बुझाइने र राष्ट्रपतिको राजीनामाको औपचारिक घोषणा संसद्बाट गरिने कार्यक्रम रहेको प्रधानमन्त्रीको कार्यालयका एक अधिकारीले बताए ।
यसैबीच, श्रीलङ्काका प्रधानमन्त्री रानिल विक्रमसिङ्घेले बुधवार आपत्कालीन अवस्थाको घोषणा गरेका छन् । माल्दिभ्समा राष्ट्रपति गोटाबाया राजपाक्ष गएको खबरपछि सम्भावित हिंसात्मक गतिविधिलाई मध्यनजर गर्दै देशको पश्चिमी प्रान्तमा कफ्र्यू लगाइएको छ ।
प्रधानमन्त्री विक्रमासिङ्घेको निवासबाहिर तैनाथ सुरक्षाकर्मीहरूले अश्रुग्याँस प्रयोग गरी प्रदर्शनकारीलाई तितरवितर पारेको समाचारहरूमा जनाइएको छ । विक्रमासिङ्घेले दङ्गा मच्चाउनेहरूलाई गिरफ्तार गर्ने ठाडो आदेश पनि दिएको श्रीलङ्काको डेली मिरर पत्रिकाले जनाएको छ ।
श्रीलङ्काको विदेश मन्त्रालयका एक पूर्वसल्लाहकारले भने, “हामी प्रधानमन्त्रीको पनि राजीनामा चाहन्छौं, किनकि राष्ट्रपतिले राजीनामा दिएमा हाम्रो संविधान अनुसार प्रधानमन्त्री कार्यवाहक राष्ट्रपति बन्नेछन् ।
जनताले उनीहरू दुवै असफल भएको देखिसकेको छ । उनीहरू दुवै पदच्युत हुनुको विकल्प छैन ।”
श्रीलङ्काको प्रधानमन्त्री विक्रमासिङ्घे कार्यवाहक राष्ट्रपति नियुक्त –सभामुख
श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको यहाँको संसद्का सभामुखले बुधवार संसद्लाई जानकारी गराएका छन् ।
संविधानको धारा ३७ को १ अन्तर्गत राष्ट्रपति गोटाबाय राजापाक्षले प्रधानमन्त्री विक्रमासिङ्घेलाई नियुक्त गरेको जानकारी आफूलाई गराएको सभामुख महिन्दा यापा अवेयवार्देनाले बताएका छन् ।
यसबारे राजापाक्ष आफैंले कुनै सार्वजनिक घोषणा भने गरेका छैनन् । राष्ट्रपतिको कार्यालय प्रदर्शनकारीले कब्जा गरेपछि केही दिनदेखि सबै सरकारी निर्णय तथा घोषणाहरू सभामुख र प्रधानमन्त्री कार्यालयबाट हुँदै आएका छन् । रासस