नितेश कर्ण, वीरगंज, २४ असार÷

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबूराम गौतमले वीरगंज चिनी कारखाना सञ्चालन गर्ने सरकारको मनसाय रहेको बताएका छन् ।

वीरगंज चिनी कारखानाको स्थलगत अवलोकन गर्न अर्थ मन्त्रालयका उपसचिव गगनबहादुर विकसहितको टोलीसँग शुक्रवार वीरगंज आएका गौतमले चिनी कारखानामा पत्रकारहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै वीरगंज चिनी कारखाना, कृषि औजार कारखाना र हेटौंडा कपडा उद्योग सञ्चालनतर्फ वर्तमान सरकार अग्रसर भएको बताए । उनले आफ्नो टोलीले अध्ययन गर्ने र प्रतिवेदन बुझाएपछि सोको आधारमा प्राविधिक टोलीले अवलोकन गर्ने बताए ।

उनले अर्थ मन्त्रालयले चालू आवमा राष्ट्रिय महŒवका तीनवटा रुग्ण उद्योग सञ्चालनतर्फ चासो देखाएकाले आफूहरू सोही कार्यको लागि आएको प्रस्ट्याए । उनले छिटोभन्दा छिटो रुग्ण उद्योग कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा अध्ययन, अनुसन्धान भइरहेको र सोही क्रममा आफूहरूले भ्रमण गरेको बताए ।

अर्थ मन्त्रालयका उपसचिव गगनबहादुर विकले वीचिकालिको गौरवमय इतिहास रहेको र सरकारले यसको संरक्षण गर्नुपर्ने बताए । टोलीमा कोलेनिका, पर्साका प्रमुख रुद्र कार्कीको पनि सहभागिता थियो । आज सहसचिव र उपसचिवको टोली अध्ययनका लागि वीचिकालि आउने भनिएपछि पूर्व र वर्तमान कर्मचारीहरू कारखानामा आएका थिए । पूर्वकर्मचारी एवं वीचिकालि सङ्घर्ष समितिका अध्यक्ष जयनाथ महतोले तत्कालीन सरकारको अदूरदर्शिताका कारण चिनी कारखाना बन्द भएको बताए । उनले २०५१ सालदेखि राजनीतिक नियुक्तिमा महाप्रबन्धक बहाल हुन शुरू गरेपछि चिनी कारखाना घाटामा गएको र त्यसको सम्पूर्ण दोषको भागीदारी तत्कालीन सरकार भएको आरोप लगाए ।

कारखाना बन्द हुनुमा कर्मचारीहरूको कुनै दोष नभएको उनले जिकिर गरे । कारखानाको आम्दानी मन्त्रीहरूसम्म पु¥याइएको र कारखाना बन्द गरिंदा पनि तीन करोड मौज्दात रहेको र सोबाट कारखाना सञ्चालन गर्न अग्रसर भएको तर जबरजस्ती बन्द गरिएको बताए ।

कारखानामा हाल करारमा बहाल रहेका प्रशासनिक प्रमुख ईश्वर सिंहले सरकारले कारखाना बन्द गरे पनि मरम्मत सम्भारको लागि एक पैसा नपठाएको बताए । उनले सरकारको उदासीनताको कारण कारखानामा भएका टर्बाइन, बोइलरलगायतका महँगा यन्त्रहरू संरक्षण अभावमा रहे पनि आफूहरूले सक्दो खर्च गरी संरक्षण गरेको दाबी गरे । उनले सरकारहरूले कारखाना सञ्चालन गर्ने कुरा मात्रै गरेको तर त्यसको लागि कुनै क्रियाकलाप अगाडि नबढाएको र अहिलेको सरकारले बजेटमार्फत केही आशा देखाएको भएपनि सञ्चालनतर्फ सन्देश मात्र व्यक्त गरेको बताए ।

कारखानामा अहिले ११ जना चौकीदार र तीनजना प्रशासनिक गरी चौधजना कर्मचारी कार्यरत रहेको सिंहले जानकारी गराए । अन्य पूर्वकर्मचारीहरूले अहिले पनि कारखाना सञ्चालन हुन सक्ने दाबी गरे । उनीहरूले सबैखाले पूर्वाधार रहेको र कारखाना सञ्चालन गर्ने सरकारको मनसाय भएमा सञ्चालन हुन सक्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here