• उमाशङ्कर द्विवेदी

महाबली राक्षस अश्वत्थामातिर झम्टे तथा बाणवर्षा गर्न थाले तर घटोत्कचले हानेका बाणहरू नजीक आउनुभन्दा पहिल्यै नै अश्वत्थामाले तिनीहरूलाई काटेर खसाल्दथे । यस प्रकार अन्तरिक्षमा मानौं अर्कै किसिमको संग्राम भइरहेको होओस् । दुवैतर्फका बाणहरू एकापसमा ठक्कर खाँदा त्यहाँ आगोको झिल्को निस्कन्थ्यो, जुन त्यस प्रदोषकालमा आकाशको बीचमा जूनकीरीझैं देखिन्थ्यो ।

रणाभिमानी अश्वत्थामाद्वारा आफ्नो मायाजाल नष्ट भएको हेरेर घटोत्कच पुनः आकाशमा लुकेर अर्को किसिमको मायाजालको रचना गर्न थाले । उनी एउटा अग्लो पर्वत बने, जसको अनेकौं शिखर थिए । जसरी पर्वतबाट छहरा झर्दछ, त्यसै प्रकार त्यस पर्वतबाट शूल, प्रास, तरबार र मूसल आदि अस्त्रहरूको स्त्रोत बग्न थाल्यो । यो जस्तो मायाजाल हेरेर पनि अश्वत्थामा कति पनि विचलित भएनन् । उनी हाँस्दाहाँस्दै त्यस पर्वतमाथि वज्रास्त्रको प्रहार गरे । त्यसको स्पर्श हुने बित्तिकै त्यो पर्वतराज अनायास विलीन हुन पुग्यो । यसपछि उनले इन्द्रधनुषसहित कालो मेघ बनेर ढुङ्गाको वर्षा गर्दै द्रोणपुत्र अश्वत्थामालाई ढाकिदिए । अश्वत्थामा अस्त्रवेत्ताहरूमध्ये सर्वश्रेष्ठ थिए, उनले आफ्नो धनुषमाथि वायव्यास्त्रको संधान गरेर त्यस कालो बादललाई छिन्नभिन्न पारिदिए । अनि उनले बाणवर्षाबाट सम्पूर्ण दिशालाई आच्छादित पार्दै पाण्डवका एक लाख सैनिकलाई सोत्तर पारिदिए ।

तदन्तर क्रोधित घटोत्कचले अश्वत्थामाको छाती ताकेर दशवटा बाण हाने । त्यसबाट आहत भएर अश्वत्थामा काम्न थाले । यत्तिकैमा घटोत्कचले आञ्जलिक नामक बाण हानेर उनको धनुषलाई काटिदिए । अनि अश्वत्थामाले अर्को धनुष धारण गरेर घटोत्कचमाथि बाणवर्षा आरम्भ गरे । घटोत्कचको क्रोधको सीमा रहेन, उनले भयङ्कर कर्म गर्ने राक्षसी सेनालाई आज्ञा दिए– वीरहरू हो, यस द्रोणको छोरालाई मारिदेउ । आज्ञा पाएपछि भयानक राक्षसहरू आँखा रातो–रातो पार्दै, मुख बाएर अनेकौं अस्त्र लिएर अश्वत्थामालाई मार्न भनेर दौडे । उनीहरूले अश्वत्थामाको मस्तकमाथि शक्ति, शतघ्नी, परिघ, वज्र, शूल, पट्टिश, तरबार, गदा, भिन्दिपाल, मूसल, बञ्चरो, प्रास, तोमर, कणप, कम्पन र मुग्दर आदि घोर शत्रुनाशक अस्त्रशस्त्रको वर्षा गर्न थाले ।

द्रोणपुत्र अश्वत्थामाको मस्तकमाथि शस्त्रहरूको ओइरो हेरेर तपाईंका योद्धाहरू धेरै दुःखी भए तर उनी स्वयम् कति पनि विचलित भएनन् । वज्रको समान तीक्ष्ण शस्त्रहरूबाट त्यस घोर शस्त्र वर्षालाई विध्वंस गरिरहे । अनि उनले आफ्नो तीक्ष्ण बाणहरूलाई दिव्यमन्त्रबाट अभिमन्त्रित गरेर त्यस राक्षसी सेनाको संहार प्रारम्भ गरे । उनको बाणको मारबाट आहत भएर राक्षसहरूको समुदाय व्याकुल हुन पुग्यो । अश्वत्थामाको मारबाट सबै राक्षस क्रोधित भएर उनीमाथि जाइलागे । त्यति बेला अश्वत्थामाले यस्तो अद्भुत पराक्रम गरे जस्तो पराक्रम अन्य कसैले पनि गर्न सक्दैन्थ्यो । उनले राक्षसराज घटोत्कचले हेर्दाहेर्दै आफ्ना प्रज्वलित बाणबाट उनको सेनालाई भस्मसात् पारिदिए । अनि क्रोधले मुर्मुरिएका घटोत्कचले दा¥हा किट्दै ताली पड्काएर सिंहनाद गर्दै आठवटा घण्टी भएको अशनि नामक एउटा भयानक अस्त्र अश्वत्थामामाथि हाने । अश्वत्थामाले हाम्फालेर त्यस अशनि नामक अस्त्रलाई हातमा समातेर त्यसलाई पुनः घटोत्कचमाथि नै फर्काइदिए । घटोत्कच हाम्फालेर रथबाट टाढा भए र त्यो भयङ्कर अशनिले उनको घोडा, सारथि, ध्वजा तथा रथलाई भस्म पार्दै पृथ्वीभित्र छि¥यो ।

अश्वत्थामाको पराक्रमलाई हेरेर सबै योद्धाले उनको प्रशंसा गर्न थाले । आफ्नो रथ नष्ट भइसकेकोले घटोत्कच धृष्टद्युम्नको रथमाथि गई बसे तथा हातमा एक भयानक धनुष लिएर अश्वत्थामाको छाती ताकेर भिषण बाण प्रहार गर्न थाले । यसै प्रकार धृष्टद्युम्न पनि निर्भीक भएर द्रोणपुत्रको छातीमाथि बाणबाट चोट पु¥याउन थाले । यता अश्वत्थामाले पनि उनीहरूमाथि बाणवर्षा गर्न थाले र ती दुवैजनाले आफ्नो अस्त्रबाट अश्वत्थामाको शस्त्रलाई काट्न थाले । यस प्रकार उनीहरूबीच बडो तीव्रताको साथ अत्यन्त भयङ्कर युद्ध थालिएको थियो । त्यति बेला अश्वत्थामाले त्यहाँ अत्यन्त अद्भुत पराक्रम प्रकट गरे, जुन अर्काको निम्ति असम्भव थियो । उनले आँखा नझिम्काउँदै घोडा, सारथि, रथ र हात्तीसहित राक्षसको एक अक्षौहिणी सेनाको विध्वंस गरिदिए । भीमसेन, घटोत्कच, धृष्टद्युम्न, नकुल, सहदेव, युधिष्ठिर, अर्जुन र श्रीकृष्णले पनि हेरेको हे¥यै भए । उनको बाणबाट चोट खाएर हात्तीहरू श्रृङ्गहीन पर्वतको समान पृथ्वीमाथि लड्दथे । उनले आफ्ना नाराचहरूबाट दु्रपद कुमार सुरथलाई मारिदिए । फेरि दु्रपदको भाइ शत्रुञ्जयलाई सिध्याए । यसपछि बलानीक, जयानी र जयाश्वको प्राण लिए, अनि श्रुताह्वयलाई यमलोक पठाइदिए । तदन्त तीनवटा बाणबाट हेममाली, पृषध्र र चन्द्रसेनको वध गरे । तत्पश्चात् कुन्तिभोजका दशजना पुत्रहरूलाई पनि दशवटा बाण हानेर यमलोकको बाटो देखाए । यसपछि उनले यमदण्डको समान घोर बाण धनुषमाथि राखेर घटोत्कचको छातीमाथि प्रहार गरे । त्यो महान् बाण घटोत्कचको छातीलाई छेडेर पृथ्वीभित्र छि¥यो । घटोत्कच मूर्छित भएर भूमिमाथि लडे । क्रमश …

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here