बाराको निजगढमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य फेरि सुचारु हुने भएको छ । सर्वोच्च अदालतको निर्णयबाट केही दिनका लागि अवरोध भएको यो विमानस्थलको निर्माण कार्य सर्वोच्च अदालतको निर्णयको पूर्ण पाठ आएसँगै सहज भएको हो । अदालतले विमानस्थलको काम रोक्न र विकल्प खोज्न निर्णय गरेको थियो । यो निर्णयको यस भेगमा आलोचना त भएकै थियो । स्वयम् सरकारले पनि अदालतको निर्णय अमान्य हुनेगरी निर्माण कार्य नरोकिने कुरा बताउँदै आएको थियो । सरकारका अर्थमन्त्री जनार्दन शर्माले वीरगंज उद्योग वाणिज्य सङ्घको साधारणसभामा अदालतको निर्णय जेजस्तो आए पनि विमानस्थल निर्माण कार्य नरोकिने बताएका थिए । उनले सरकारले विमानस्थलका लागि आगामी बजेटमा पनि रकम विनियोजन गरिसकेको जानकारी गराएका थिए । सर्वाेच्चको निर्णय आएपछि सोको विरुद्ध निजगढवासीले चरणबद्ध आन्दोलन गर्दै आएका थिए । सडकजाम, रिले अनशन लामो अवधिसम्म चले ।
यसबीच अदालतको हालै आएको पूर्ण पाठमा विमानस्थल निर्माण कार्य रोकिनुपर्ने अवस्था देखिएन । अदालतले वातावरण संरक्षणको कार्यलाई प्राथमिकतामा राखेर कमसेकम क्षति हुनेगरी रूख कटान गर्न र विमानस्थलको कार्य रोक्नुपर्ने आशयविरुद्धको निर्णय गरेपछि अहिले यो विमानस्थल निर्माण कार्य पुनः शुरू भएको हो । विमानस्थल निर्माण कार्य पूर्ववत्रूपमा जारी रहने र आगामी दिनमा निर्माण कार्यले गति पाउने आश्वासन दिनका लागि सत्तारूढ पाँच दलका शीर्ष नेताहरू निजगढमा आएर त्यहाँका जनतालाई आश्वस्त पारेर पनि गइसकेका छन् । स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवा र उनको सरकारलाई समर्थन गर्ने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले निजगढमा गत शनिवार अवलोकन गरेर विमानस्थलको निर्माण कार्य चाँडै शुरू हुने र द्रुत गति लिने भनेर उद्घोष गरेका थिए । सरकारमा रहेका बेला नेताहरूले यसखाले भाषण निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको हकमा गरेको नयाँ नौलो भने होइन । यो विमानस्थल निर्माण शुरू भएको २७ वर्षको अवधिमा दर्जन बढी प्रधानमन्त्री र मन्त्रीले यस प्रकारका आश्वासन दिइसकेका छन् । निजगढ विमानस्थल निर्माण शुरू भएपछि नेपालमा थप दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने घोषणा भएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । अहिले दुवै अन्तर्राष्ट्रिय विमानस्थल तयारी भएर भैरहवाको सञ्चालनमा पनि आइसकेको छ ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम भने कछुवा गतिमा छ । अहिलेसम्म जग्गा अधिग्रहणको कार्य सकिएको छैन । टाँगियाबस्ती व्यवस्थापनको कार्य अन्तिम चरणमा छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने यो बस्तीको किचलो हटाउन सरकारलाई धौधौ परेको छ । सरकारले यो विमानस्थल निर्माणको लागि छुट्टयाउँदै आएको वार्षिक बजेट पनि हास्यप्रद छ । नाम चाहिं अन्तर्राष्ट्रिय विमानस्थल राखिएको छ र काम भने घरेलु विमानस्थल निर्माण सरह पनि भएको छैन । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा कुन शक्तिले सरकारलाई रोक्दै आएको छ र यो कार्यलाई सरकारले न पूरा गर्न सकिरहेको छ, न त्यत्तिकै छाडेको छ ।