प्रस, परवानीपुर, १९ असार/
यातायात व्यवस्था कार्यालय (सवारी वीरगंज)को कार्यालय भवन दिन प्रतिदिन जीर्ण र असुविधाजनक बन्दै गएको छ ।
विगत लामो समयदेखि भाडामा प्रतिमाचोकनजीकै सञ्चालित उक्त कार्यालयको मुख्य भवनको रूपमा सडकदेखि उत्तर पश्चिमपट्टिको गोदाम जस्तो भवनलाई लिइन्छ ।
जसमा विभिन्न सवारीसाधनको दर्ता, नामसारी, सवारीसाधन धनी प्रमाणपत्रलगायतका दस्तावेजहरू दराज तथा ¥याकमा राखिएका छन् । तर ती सबै कागजात पछिल्लो समय असुरक्षित बन्दै गएको कार्यालयका कर्मचारीहरू बताउँछन् ।
भवनको छाना कर्कटपाताको छ । कर्कटपाताको छाना खिया लागेर जीर्ण भइसकेको छ र ठाउँ–ठाउँमा प्वाल परेको छ । कर्मचारीहरूले बेला–बेलामा छानालाई त्रिपालले ढाकेर राख्ने गरेका छन् तर ठूलो वर्षा र हावाहुरी चल्दा त्रिपालले पानी थाम्दैन र पानी चुहिएर दराज र ¥याकमा राखिएका दस्तावेजहरू भिज्न थालेको यातायात व्यवस्था कार्यालयका प्रमुख कुशेश्वर साह बताउँछन् ।
“बडो बिजोगको अवस्था छ, हामीले दिनदिनै कार्यालयमा आएर कार्यालयभित्र पानी त पसेन, छाना त उडाएन, कागजातहरू सुरक्षित छन् नि ? भनेर हेर्नुपर्छ,” उनले भने, “यस विषयमा मधेस प्रदेशको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय र सङ्घीय सरकारको भौतिक मन्त्रालयलगायत सरोकारवाला निकायमा पटक–पटक ताकेता गर्दै आएका छौं, तर पनि हालसम्म भवन निर्माणको लागि सरकारले बजेट छुट्टयाउन सकेको छैन ।”
उनले माथिल्लो निकायबाट ‘जग्गा खोज्नुस्, हामी बजेट विनियोजन गर्छौं’ भनी आश्वासन मात्र पाएको बताए । उनले आगामी केही वर्षभित्रै यातायात व्यवस्था कार्यालयको नयाँ भवनको निर्माण कार्य अगाडि बढेन भने अधिकांश कागजात नष्ट हुने बताए ।
कार्यालय पन्ध्र वर्षअघिकै अवस्थामा रहेको तर सेवाग्राहीको चाप दिनानुदिन बढ्दै गएकाले अहिलेको अवस्थामा कार्यालयमा काम गर्न निकै कठिनाइ भइरहेको बताए ।
कार्यालयमा फाइल र ढड्डाहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएकाले कतिपय सेवाग्राहीहरूको फाइल र कागजातहरू खोजेको बेलामा नपाइने गरेको कर्मचारीहरूले गुनासो गरे ।