चिरञ्जीवी सापकोटा, ठोरी, १९ असार/

ठोरी गाउँपालिकाले विद्यालयहरूको अनुगमन शुरू गरेको छ ।

गापा अध्यक्ष लालबहादुर श्रेष्ठको नेतृत्वमा वडा नं १ देखि विद्यालयको अनुगमन शुरू गरिएको गापाको युवा तथा शिक्षा शाखाका प्रमुख भुपालकुमार जोशीले जानकारी दिए ।

ठोरी गापा–३ स्थित नेरामावि ओडारको अनुगमनपछि शिक्षकसँगको परिचयात्मक कार्यक्रममा अध्यक्ष श्रेष्ठले आफूले पहिलो प्राथमिकता शिक्षालाई दिएको बताए । उनले जबसम्म शिक्षामा परिवर्तन आउँदैन, तबसम्म समाज परिवर्तनको कल्पना गर्न नसकिने बताए । अध्यक्ष श्रेष्ठले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरूलाई आग्रह गरे ।

ठोरी गापाभित्र बालविकासदेखि कक्षा १२ सम्म निश्शुल्क शिक्षा प्रदान गर्ने, जस्तापाता फेर्ने निर्णय गरेर लोकप्रिय कार्य गरेको र अध्यक्ष श्रेष्ठको विद्यालय अनुगमनलाई शिक्षाप्रतिको चासो र जिम्मेवारीको रूपमा लिनुपर्ने स्थानीय शिक्षक हरि दर्जीले बताए ।

अनुगमन टोलीले विद्यालयका प्रत्येक कक्षा कोठामा प्रवेश गरी पठनपाठन तथा विविध विषयमा विद्यार्थीहरूसँग चासो राखेको थियो । विद्यालयमा देखिएका समस्याको समाधान गापाले गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

अनुगमन टोलीमा उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, वडाध्यक्ष शम्भु खड्का, युवा तथा शिक्षा शाखाका प्रमुख जोशी र जिल्ला समन्वय समिति पर्साका पूर्वउपप्रमुख ठाकुरप्रसाद न्यौपानेको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here