प्रस, वीरगंज, १७ असार/
चालू आवको ११ महीनामा नारायणी अस्पतालले एक हजार ५०० भन्दा बढी गरीब, असहाय तथा विपन्न नेपाली नागरिकको निश्शुल्क उपचार गरेको छ ।
रकम अभावका कारण कसैको ज्यान जान नहुने नेपाल सरकारको अवधारणा अनुसार नेपाल सरकारले सरकारी अस्पतालमा गरीब, असहायहरूलाई निश्शुल्क उपचार गर्ने व्यवस्था मिलाएको छ ।
अस्पतालको सामाजिक सेवा एकाइमार्फत लक्षित १२ समूहका नागरिकको निश्शुल्क उपचार गरिएको बताइएको छ । स्वास्थ्य सेवा मौलिक अधिकारभित्र पर्ने भएकोले सबैले उपचार पाउनुपर्छ भन्ने नेपालको संविधानमा उल्लिखित छ ।
सोही क्रममा नारायणी अस्पतालले छुट्टै सामाजिक सेवा एकाइ स्थापना गरी गरीब, असहाय, अपाङ्ग, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसामा परेका पीडित बालबालिका, सीमान्तकृत तथा लोपोन्मुख आदिवासी जनजाति, कुपोषित बालबालिका तथा शहीद परिवारलाई अस्पतालबाट हुने सबैखाले सेवा निश्शुल्क नेपाल सरकारले व्यवस्था गरेको अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए । डा सिंहका अनुसार चालू आवको पहिलो चौमासिकमा ३१६ महिला, २२४ पुरुष गरी ५८० जनालाई सेवा प्रदान गरिएको छ । दोस्रो चौमासिकमा ३०३ महिला र २०४ पुरुष गरी ५०७ जनालाई सेवा दिइएकोे उनले जानकारी दिए ।
चालू आवको तेस्रो चौमासिक समाप्त नभए पनि असारको १० गतेसम्ममा पाँच सयभन्दा बढी बिरामीलाई उपचार प्रदान गरिसकेको डा सिंहको भनाइ छ । डा सिंहले गरीब तथा विपन्न नागरिकको उपचारमा १९ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको बताए । रकम अभावका कारण रोग लुकाइराख्ने प्रवृत्ति
तराईका जिल्लामा नेपाल सरकारले सञ्चालन गरेको निश्शुल्क उपचारको योजनाले धेरै नागरिकलाई अकाल मृत्युबाट जोगाएको डा सिंहले बताए ।