प्रस, वीरगंज, १७ असार/
मानव सेवा आश्रम केही महीनाको लागि वीरगंज–२५, श्रीसिया खल्वाटोलमा सर्ने भएको छ ।
हाल वीरगंज–११ रानीघाटमा रहेको मानव सेवा आश्रममा पर्याप्त कोठाहरू नभएको र उद्धार गरेर मानिसहरूलाई राख्न समस्या भएकोले श्रीसिया खल्वाटोलामा सर्न लागेको हो ।
प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीले सो स्थानमा रु छ करोडको लागतमा वृद्धाश्रम निर्माण गराएका छन् । सोही आश्रममा केही महीनाको लागि मानव सेवा आश्रम सञ्चालन हुन गइरहेको हो । प्रदेशसभा सदस्य कुर्मीले डेढ महीना अवधिमा वृद्धाश्रमको सम्पूर्ण निर्माण कार्य सम्पन्न हुने र तत्काल केही महीनाको लागि मानव सेवा आश्रम सञ्चालन हुने बताए । उनले मानव सेवा आश्रम पनि सोही प्रयोजनमा काम गरिरहेको हुँदा आश्रमको नयाँ भवन निर्माण नहुन्जेल अथवा अन्यत्र व्यवस्था नमिलेसम्म केही महीनाको लागि वृद्धाश्रममा सञ्चालन गर्न अनुमति दिएको बताए ।
मानव सेवा आश्रमकी सञ्चालिका सानु मानवसेवाले हाल रहेको आश्रममा थप मानवहरूको उद्धार गरेर राख्न स्थानाभावले नवनिर्मित वृद्धाश्रममा मानव सेवा आश्रम सार्न लागेको बताइन् । उनले हाल चारवटा कोठामा महिला र तीनवटा कोठामा पुरुषहरू राखिएको र उनीहरूको सङ्ख्या ६० जना रहेको बताइन् ।
वर्तमान अवस्थामा ठाउँ साँघुरो भएर थप मानवलाई उद्धार गरेर राख्न नसकिने भएकोले प्रदेशसभा सदस्य कुर्मीलाई वृद्धाश्रम सञ्चालनमा नआउन्जेल र मानव सेवा आश्रमको भवन र अन्य व्यवस्था नहुन्जेल आश्रम सञ्चालनको लागि गरिएको आग्रह उनले स्वीकार गरेको बताइन् ।
मानव सेवा आश्रम निर्माणको लागि वीरगंज महानगरपालिकाले वडा नं १५ मा १८ कट्ठा जग्गा उपलब्ध गराएको छ ।
सो स्थानमा भवन निर्माणको लागि पूर्वनगरप्रमुख विजयकुमार सरावगीले शिलान्यास पनि गरेका थिए । भवन निर्माणको लागि आवश्यक रकमको जोहो भइरहेको सानु मानवसेवाले बताइन् । वीरगंज मनपालगायत पर्सा जिल्लाका १४ वटै पालिकालाई आश्रम निर्माणको लागि बजेट विनियोजन गर्न आग्रह गरिएको र आगामी दिनमा आश्रमको भवन निर्माण शुरू गरिने बताइन् ।