ओमप्रकाश चौधरी, सेढवा, १६ असार/
तीन दिनदेखि भइरहेको वर्षाले पर्साको ग्रामीण भेगमा रोपाइँ शुरू भएपनि रासायनिक मलको हाहाकार यथावत् छ ।
सोमवारदेखिको वर्षाले ग्रामीण भेगमा वर्षेबाली धानको रोपाइँ शुरू भएको छ । ब्याडमा बीउ हाल्ने समयमा पटक–पटक परेको पानीको कारणले रोपाइँका लागि बीउ तैयार नभए पनि कम उम्रेको बीउबाट नै रोपाइँ शुरू भएको छ । आकाशे पानीको सदुपयोग गर्दै किसानहरूले रोपाइँ शुरू गरेका छन् तर रासायनिक मल पाउने–नपाउनेबारे किसानहरू चिन्तित छन् । रोपाइँको समयमा डिएपी, युरिया र पोटास रासायनिक मलको आवश्यकता पर्छ । तर नेपाली बजारमा रासायनिक मल उपलब्ध नहुँदा किसानहरू निराश भएका छन् । स्थानीय कृषि सहकारी संस्थाबाट थोरै डिएपी मल पाएको किसानहरूले गुनासो गरेका छन् ।
जीराभवानी गाउँपालिका–५ अन्तर्गत शङ्करसरैया, सखुवनिया, हरैयामा एक संस्थाले प्रतिकिसान १२ किलो डिएपी मल वितरण गरेको किसानहरूले गुनासो गरेका छन् ।
त्यस्तै, पटेर्वासुगौली गापा–२ बेलवाका रामपूजन चौधरीले स्थानीय एउटा संस्थाले प्रतिकिसान २५ किलो डिएपी मल वितरण गरेको बताए । आवश्यकताभन्दा निकै कम त्यसमा पनि डिएपी मल पाएकाले किसानहरू निराश भएको चौधरीले बताए । रोपाइँको समयमा डिएपी, युरिया र पोटास गरी नौ बोरा मल आवश्यकता पर्छ तर २५ किलो मलबाट के गर्ने भन्दै चौधरीले चिन्ता व्यक्त गरे । धानबाली रोपाइँको समयमा प्रतिकट्ठा साढे दुई किलो डिएपी, दुर्ई किलो युरिया, डेढ किलो पोटास कम्तीमा आवश्यकता पर्छ ।
त्यस्तै, जगरनाथपुर गापा–३ खलुचडीका किसान अलि अहमद मियाँले रासायनिक मलको अभाव भएपनि दुई कित्ता खेतमा रोपाइँ गरेको बताए । मलको आशा गर्दै उनले मल आएपछि छर्ने बताए ।
नेपालमा रासायनिक मलको अभावसँगै सीमापारि मलको भाउ बढेको छ । जगरनाथपुर गापा–३ का किसान उपेन्द्र यादवले रु आठ सय पर्ने युरिया मलको बोरा अहिले रु एक हजार ८०० पुगेको बताए । त्यस्तै, रु दुई हजार २०० पर्ने डिएपी मल अहिले रु तीन हजार पुगेको उनले बताए । नेपाली बजारमा प्रतिकिलो रु १८ पर्ने युरिया मल अहिले प्रतिकिलो रु ४५ मा खरीद गर्नुपरेको किसानहरूले गुनासो गरेका छन् ।
जीराभवानी गापा–३ मा रहेको सुपौली कृषि सहकारी संस्थाका दीपक चौधरीले मल उपलब्ध गराउने दुई निकायमध्ये साल्ट ट्रेडिङ कम्पनीले एकपटक डिएपी मल दिएको र अर्काेपटक कहिले दिने ठेकान नभएको बताए ।
प्राप्त मल वडाको निगरानीमा सबै किसानलाई बराबर वितरण गरेको चौधरीले बताए । युरिया मल नआएको तथा कृषि सामग्री कम्पनीले पनि कहिले मल वितरण गर्ने ठेगान नभएको चौधरीको भनाइ छ ।