प्रस, निजगढ, १५ असार/
गएरातिदेखि अविरल परेको पानीले पूर्व–पश्चिम महेन्द्र राजमार्गको निजगढस्थित जमुनापैनीमा आएको बाढीले चार घण्टा सडक अवरुद्ध भएको छ । यहाँ रहेको जमुनापैनीस्थित कजवेको सडकको भाग जलमग्न भएर पानी बगेसँगै यस राजमार्ग भएर आवतजावत गर्ने साना/ठुला सवारीसाधनहरू बाढी पार गर्न नसक्दा रोकिएर बसेका छन् । केही साना सवारीसाधनहरूले वैकल्पिक बाटो अपानाउँदै गन्तव्य आउने–जाने गरे पनि यात्रुवाहक बस, लोड सवारीसाधनहरू बाढी घटेपछि आवतजावत गरेका थिए ।
जमुनापैनीलाई वर्षा लाग्नुअघि सर सफाइ नगर्दा पानी सडकमाथि उक्लिएर गएको स्थानीयहरू बताउँछन् ।
बाढीका कारण निजगढ नगरका अधिकांश होचो स्थान डुबानमा परेका छन् । रातिदेखि परिरहेको पानीले विद्यालयहरूको पठनपाठनसमेत प्रभावित भएको छ । विद्यालय खुले पनि विद्यार्थीको सङ्ख्या घटेको छ । विद्यालय आएका विद्यार्थीहरूलाई घर पु¥याउनसमेत कठिनाइ भएको विद्यालयका शिक्षकहरूले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी पूर्वानुमान शाखाले पछिल्लो छ घण्टामा भारी वर्षा भएको तथा थप भारी वर्षा हुने जनाएसँगै निजगढ नगरपालिकाले दुई दिन शुक्रवारसम्म विद्यालय बन्द गर्ने सार्वजनिक सूचना प्रवाह आज गरेको छ ।
डेढ दशकयताबाट निजगढमा अत्यधिक जग्गा प्लटिङसँगै घरलगायतका भौतिक संरचना निर्माण हुँदै आए पनि पानीको उचित निकासतर्फ निजगढ नगरपालिकाले बेलैमा ध्यान नदिंदा अहिले निकासविनाको विकास देखिएको छ । सडकछेउमा नाला निर्माण गरिए पनि नाला भरिएर पानी सडकमा बग्दा भित्री सडकहरूमा समेत आवागमन गर्न असहज भएको छ । निजगढ नगरपालिकाले नगरभित्रका अन्य विकासका कार्यहरूभन्दा सडक निर्माणमा डब्बल रकम विनियोजन गरिरहेको छ । विकासे सडक बनाउने नाममा वर्षाको पानीको उचित निकासलाई ध्यान नदिंदा बर्सेनि वर्षायाममा यस्तै डुबानको समस्या भोग्दै आउनुपरिरहेको प्रभावित बस्तीका स्थानीयहरू बताउँछन् । नगरभित्र निर्माण गरिएका अधिकांश नाला निर्माण गर्नुपूर्व प्राविधिकरूपमा पानीको बहावलाई लेखाजोखा गर्न वा ध्यान नदिइ हचुवाको भरमा रकम विनियोजन गरी निर्माण गरिंदा समस्या देखिएको हो । नगरभित्रका वडाहरूमा पनि विकासको पहिलो पूर्वाधार सडक, बाटोघाटो भन्दै रकम विनियोजन गर्ने र प्राविधिकरूपमा निर्माण कार्यलाई उचित ढङ्गले कार्यान्वयन गर्नेतर्फ ध्यान नदिंदा बनाइएका सडक, बाटाघाटाले नै मानवबस्ती डुबानमा परेका छन् । यसरी निर्माण गरिएका सडक, बाटाघाटामा भारी वर्षाको पानीको उचित निकास गर्न अति आवश्यक स्थानहरूमा निकास गर्न ध्यान दिन नसक्दा पनि यो समस्या दोहोरिएको सचेत स्थानीयहरू बताउँछन् ।
पानीले खयरघारी क्षेत्रका केही बस्ती, निजगढ जमुनापैनी, कभर्डहल, हाटबजार क्षेत्र, शहीदचोक, भमराटोल लिचीटोल, भेटनरी टोल, औतारटोल, सडकटोल, बागदेवलगायतका होचा स्थानका बस्ती, खेतीयोग्य जमीन, प्लटिङ क्षेत्र जलमग्न भएका थिए ।