प्रस, परवानीपुर, १२ असार/
लायन्स क्लब अफ वीरगंज क्षेत्र २ अन्तर्गतका विभिन्न क्लबहरूको संयुक्त आयोजनामा वीरगंज महानगरपालिका–२१ चोर्नीमा आइतवारदेखि दश दिने छात्रा प्रतिरक्षा तालीम एवं कृषि तालीम शुरू भएको छ।
चोर्नीको खेलमैदानमा आयोजित तालीम दश दिनसम्म चल्नेछ। चार महीनाअगाडि लायन्स क्लबले उक्त गाउँलाई विकसित र समृद्ध बनाउन सहयोग गर्ने उद्देश्यका साथ काख लिएको थियो। उक्त गाउँको भौतिक संरचना, शिक्षा, जीवनशैली, आम्दानी, आयआर्जनमा सकारात्मक सुधार गर्नको लागि लायन्स क्लब अफ वीरगंजले दिगो कार्ययोजना बनाएको लायन्स क्लब अफ वीरगंजका वरिष्ठ सदस्य राधेश्याम खेतानले जानकारी गराए।
लायन्स क्लब अफ वीरगंजका नवनिर्वाचित अध्यक्ष सुनील खेतानको अध्यक्षतामा भएको कार्यक्रममा कृषिविज्ञ कैलाशप्रसाद भुडेर, चोर्नी वडा कार्यालयका जनप्रतिनिधि, लायन्स क्लब वीरगंजका सचिव पप्पु श्रीवास्तव, वरिष्ठ सदस्य मनोहर टिबडेवाल, मीरा खेतान, सीता अग्रवाल, गुड्डी जोशी, पूजा पोद्दारलगायतको सहभागिता थियो।