प्रस, वीरगंज, ११ असार/

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आफू वीरगंजको सेवक भएको बताएका छन्।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, वीरगंजले दया र करुणाका लागि आध्यात्मिक सशक्तीकरण विषयक  कार्यक्रममा उनले जनताले प्रदान गरेको जिम्मेवारी वहन गर्न सबैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको बताए। उनले विकृतिरहित समाजको स्थापनामा ब्रह्माकुमारीको योगदानको प्रशंसा गरे ।

कार्यक्रममा ब्रह्माकुमार विजयराज सिग्देलले वार्षिक छाता कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पार्दै कुनै समय बाघ र गाईले समेत एउटै घाटमा पानी पिउने देवनगरी रहेको यो वसुन्धरा आज मानवको दैहिक अभिमान र हैवानियतका कारण दया र करुणाविहीन भएको बताए । उनले आध्यात्मिकतालाई आत्मसात् गर्दै मानवले आफूलाई आन्तरिकरूपमा सशक्त बनाउने हो भने पुनः दया, करुणा, अहिंसा, शान्ति र विश्वबन्धुत्वले भरिपूर्ण स्वर्णिम युगको उदय हुने बताए।

अन्तर्राष्ट्रिय मुख्यालय भारतको माउन्ट आबुका राजयोगी ब्रह्माकुमार हरगोविन्द राजयोगको शिक्षाबाट आफ्नो वास्तविक आत्मिक स्वरूपको पहिचान गरी दया र करुणाको सागर परमात्मासँग सुमधुर सम्बन्ध जोड्नुपर्ने बताए ।

क्षेत्रीय निर्देशक राजयोगिनी ब्रह्माकुमारी रविनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद जयसवाल, ठाकुर राम बहुमुखी क्याम्पसका प्राध्यापक उमेश श्रीवास्तव, सामुदायिक सेवा केन्द्र, छपकैयाका अध्यक्ष ग्याँसुद्दीन ठकुराई, नेपाल बार एशोसिएशन, पर्साका अध्यक्ष अधिवक्ता ओमप्रकाश गुप्ता, नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंह, डा संयुक्ता साह, डा अजीत साहको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here