प्रस, रौतहट, १० असार/
रौतहट जिल्लाका अधिकांश स्थानीय तहको नगर/गाउँ सभा शुक्रवार सम्पन्न भएका छन्।
गौर, राजपुर, परोहा, बौधीमाई, मौलापुर, देवाही गोनाही, गरुडा, माधवनारायण, वृन्दावन, गुजरा र चन्द्रपुर नगरपालिकाको नगरसभा सम्पन्न भएका छन् भने यमुनामाई गाउँँपालिकाको गाउँसभा सम्पन्न भएको हो।
नगरपालिका तथा गाउँपालिकाका नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, योजनालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएका छन्।
देवाही गोनाही नगरपालिकाको नगरसभामा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री प्रभु साहले सो नगरपालिकालाई नमूनाको नगरपालिका बनाउन सुझाव दिए। उनले धेरै योजना केन्द्रबाट आफूले पठाए पनि जनप्रतिनिधिका कारण नमूना नगरपालिका बन्न नसकेको बताए। देवाही गोनाहीका जनताले चाहेको खण्डमा नमूना नगरपालिका बन्ने उनले बताए। कृषि क्षेत्रलाई बढी प्राथमिकतामा राखेर किसानलाई आयआर्जन हुनेतर्फ आकर्षित गर्न स्थायी कमिटी सदस्य साहले सुझाव दिए।
विकास बजेटलाई सदुपयोग गरी देख्ने गरी कार्य गर्न उनले भने। विगतका जनप्रतिनिधिले देख्ने गरी कार्य नगरेका कारण देवाही गोनाहीमा विकास नभएको जस्तो अनुभूति भएको स्थायी कमिटी सदस्य साहले बताए। यसभन्दा पहिला राजदेवी, गढीमाई र ईशनाथ नगरपालिकाको नगरसभा सम्पन्न भइसकेका छन्। दुर्गा भगवती तथा फतुवा विजयपुर नगरपालिकाको नगरसभा आन्तरिक विवादका कारण आज सम्पन्न हुन सकेन।