बलिराम शुक्ला, बिरुवागुठी, १० असार /
‘सुशासन, समृद्धि र विकास पर्सागढीको आधार ः जनमुखी, पारदर्शी र जनउत्तरदायी स्थानीय सरकार’ मूल नाराका साथ शुक्रवार पर्सागढी नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको छ।
पर्सागढी नगरपालिकाका नगरप्रमुख गोकर्ण पाठकको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख पूजा चौधरीले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी थिइन्। उनले ५८ करोड ८१ लाख ५९ हजारको बजेट प्रस्तुत गरिन्।
आर्थिक वर्ष २०७९/८० को लागि सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदान १३ करोड ६२ लाख, राजस्व बाँडफाँड १० करोड ७३ लाख ६९ हजार, सशर्त अनुदान १७ करोड ८५ लाख, प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान ९८ लाख, सशर्त अनुदान ८० लाख, विशेष अनुदान ३० लाख, समपूरक अनुदान २० लाख, सवारीसाधन कर बाँडफाँड ५० लाख, गत वर्षको मौज्दात अनुमान १० करोड, आन्तरिक आय एक करोड ३२ लाख ५० हजार, जिसस अनुदान एक करोड गरी अनुमानित कुल बजेट प्रस्तुत गरेकी थिइन्।
नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य, खेलकूद, सूचना, भौतिक पूर्वाधार, भूमि तथा भवन व्यवस्थापन नियमन नीति, वन, वातावरण तथा विपद् व्यवस्थापनलाई विशेष जोड दिइएको छ।
कार्यक्रममा कार्यपालिका सदस्यलगायत राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता थियो।
कार्यक्रम चल्दै गर्दा केही कार्यपालिका सदस्यहरूले एकलौटी ढङ्गबाट नीति तथा कार्यक्रम ल्याएको भन्दै विरोधस्वरूप नाराबाजी गरेका थिए।