रामेश्वर मेहता, सिम्रौनगढ, १० असार/

आदर्श कोतवाल गाउँपालिकाले आव २०७९/८० को लागि ३९ करोड ७७ लाखको बजेट प्रस्तुत गरेको छ।

गापा अध्यक्ष जवाहरप्रसाद साहले नीति तथ कार्यक्रम र बजेट प्रस्तुत गर्दै चालूतर्फ २१ करोड ९१ लाख ४३ हजार, पूँजीगततर्फ १६ करोड ८५ लाख ५८ हजार रहेको बताए। उनले समानीकरण अनुदान ११ करोड ३४ लाख, राजस्व बाँडफाँड आठ करोड ३३ लाख ४३ हजार, सशर्त अनुदान १५ करोड ४० लाख, विशेष अनुदान ७० लाख, समपूरक अनुदान ७० लाख रहेको बताए।

यसैगरी, मधेस प्रदेश सरकारतर्फबाट समानीकरण अनुदान ७९ लाख ५८ लाख, विशेष अनुदान ३० लाख, समपूरक अनुदान २० लाख, आन्तरिक स्रोत दुई करोड गरी कुल ३९ करोड ७७ लाख एक हजारको बजेट प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेपाली काङ्ग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर यादवले गलत कुरालाई परित्याग गरी सही र राम्रो कुरालाई आत्मसात् गरे विकास हुने बताए। उनले कृषकहरूलाई मलको व्यवस्था यथाशीघ्र गर्नुपर्ने, नागरिकता समस्या समाधन गर्न सरकार अग्रसर हुनुपर्ने बताए। उनले यस क्षेत्रको अस्पतालको स्तरोन्नति गर्न सरकारसँग पहल गर्ने बताए।

कार्यक्रममा प्रअ दिनेशप्रसाद साह, समाजसेवी बृजेशकुमार सिंह, राकेशकुमार कुशवाहा, रामराजा क्याम्पस, कलैयाका प्रमुख मणिभूषण कुशवाहा, गुड्डु यादवलगायतले मन्तव्य राखेका थिए।

गापा अध्यक्ष साहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार साह, सञ्चालन प्रशासन शाखाका सुनील विक्रम थापाले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here