प्रस, जीतपुर, १० असार/

नेकपा एमालेले अवरोध गरेपछि जीतपुरसिमरा उपमहानगरपालिकाको छैटौं नगरसभा शुक्रवार स्थगित भएको छ। बकुलिया माविको सभाकक्षमा शुक्रवार आयोजित नगरसभामा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरूको अवरोधका कारण नगरसभा स्थगित भएको थियो। बिहान ११ बजेदेखि शुरू हुने भनिएको नगरसभामा एमालेका कार्यपालिका सदस्यहरू नआएपछि अपराह्न ४ बजेसम्म पनि शुरू भएको थिएन।

नगरप्रमुख राजन शर्मा पौडेलको निर्देशनमा नगरसभा शुरू गर्न लाग्दा अचानक कार्यक्रममा एमालेका कार्यपालिका सदस्यहरूले होहल्ला गर्दै कुर्सी फालाफाल गरेपछि नगरसभा स्थगित भएको थियो। आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा नगरप्रमुखले  मनपरी ढङ्गले बजेट विनियोजन गरेको भन्दै एमालेका कार्यपालिका सदस्यहरूले असन्तुष्टि जनाएका थिए।

यता नगरप्रमुख पौडेलले केही कार्यपालिका सदस्यले नगरसभामा उद्दण्डता प्रदर्शन गरेका कारण नगरसभा स्थगित गर्नुपरेको बताए। उनले मतभेद र असन्तुष्टिलाई नगरसभाको छलफलमा राख्न सकिने बताए। उनले नगरसभाको मिति छिट्टै सार्वजनिक गर्ने र नगरसभाको प्रत्यक्ष प्रसारण गरिने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here