लघुकथा

– समीर पाख्रीन

बुबाले धेरै वर्षअगाडि काठमाडौंको मुटु नयाँ बानेश्वरमा आठ आना जग्गा किनेर घर बनाएका थिए। हामी दाइभाइले प्राथमिक कक्षा गाउँकै विद्यालयबाट उत्तीर्ण गर्याैं। त्यसपछि बुबाले हामीलाई काठमाडौं ल्याए। हामी यतै बढ्यौं, हुर्कियौं।

दाइ अस्ट्रेलिया जानुभयो, घरजम गरी उतै भास्सिनुभयो। म पढेर सरकारी जागीरे भएँ।

दिनहरू क्रमशः बित्दै गए। जग्गाको भाव आकाशिंदै गयो।

बुबाले चार आनामा घर बनाएर बाँकी जग्गा आँगन र करेसाबारी चाहिन्छ भनी छाडेका थिए।  त्यो रूमाले जग्गामा धेरैले आँखा गाँड्न थाले। दिनदिनै जग्गा खोज्नेहरू आएर बुबालाई दुःख दिन थाले। तर बुबाले त्यति जग्गा त चाहिन्छ, पछि नातिनातिनाहरूलाई आँगन पोलेर अन्माउनुपर्छ भन्ने गर्दथे। टहल्नलाई खुल्ला आँगन चाहिन्छ भन्ने गर्दथे। तर म भने जग्गाको भाउ आकाशिएको देख्दा बेचेर अरू दुर्ई तला थपेर बचेको पैसाले एउटा गाडी किन्न पाए हुन्थ्यो भन्ठान्थे।

तर बुबा एकदमै कडा मिजासको हुनुहुन्थ्यो। यसैले बुबा जीवित छँदासम्म मैले त्यो चार आना जग्गा बेच्ने आँट गरिनँ।

बुबाको शेषपछि जग्गा मेरो नाममा नामसारी भयो। अब मलाई रोक्ने छेक्ने कोही थिएन। यसैले अगाडिको जग्गा घरसम्म मोटर बाटोलाई छोडेर बेचिदिएँ।

वर्ष दिन भित्रै त्यो जग्गामा पाँच तले पक्की भवन ठडियो। पूर्वको झुल्के घाम घरआँगनमा छिर्दा घरै उज्यालो न्यानो लाग्ने अहिले पाँच तले घरले छेकिदिएको थियो। बासी सागपात किनेर खानुपर्ने दिन आयो।

शनिवारको दिन थियो। म खानपिन गरेर कोठामा टिभी हेरेर बसिरहेको थिएँ। एक्कासि घर हल्लियो। म आत्तिएर उठें। स्वास्नी, छोराछोरीलाई खोजें। सबैजना तल बरन्डामा भेला भएका  रहेछन्। घर हल्लन अझै छोडेको थिएन। सर्वत्र चित्कार, क्रन्दन मडारिएको अवस्था थियो। केही समयपछि रोक्किनु त रोक्कियो तर ससाना परकम्पन भने जारी थियो। यसैले हामी पनि छिमेकीहरूसितै खुल्ला ठाउँ खोजेर भौंतारिन थाल्यौं। त्यसपछि घरदेखि केही टाढा एउटा खाली जग्गामा सबैले त्रिपाल हाले। हामी पनि सपरिवार केही रात घरबाहिर त्रिपालमा गुजारा गर्न बाध्य भयौं।

एक साँझ मेरी पत्नीले दुःखेसो पोखिन्, “आज आँगन करेसाबारी नबेचेको भए यति टाढा आउनै पर्ने थिएन है बूढा ?”

उनको कुरा सुनेर मलाई पनि बुद्धि बिगारेछु भनी घोर पछुतो भयो। म जवाफमा केही बोल्न सकिनँ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here