प्रस, पोखरिया, ९ असार/

पर्साको विन्ध्यवासिनी गाउँपालिका आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम ल्याउने जिल्लाकै पहिलो स्थानीय तह बनेको छ ।

पर्सा जिल्लाका १४ वटा स्थानीय तहमध्ये विन्ध्यवासिनी गाउँपालिकाले बिहीवार ११औं गाउँसभाबाट आगामी आर्थिक वर्ष २०७९/८० को लागि नीति तथा कार्यक्रम ल्याउँदै पहिलो स्थानीय तह बनेको हो ।

गाउँपालिकाको नीति तथा कार्यक्रम अध्यक्ष प्रमोद तिवारीले प्रस्तुत गरेका थिए ।

गाउँसभामा अध्यक्ष तिवारीले आगामी वर्षको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिइएको बताए । अध्यक्ष तिवारीले शिक्षा, स्वास्थ्य र कृषि नै गाउँपालिकाको विकास र समृद्धिको प्रमुख आधार भएकोले प्राथमिकता दिइएको बताए ।

गापाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले विगतका वर्षहरूको तुलनामा यसपटक विन्ध्यवासिनी गापाको नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेटेको बताए । उनले शिक्षा, स्वास्थ्य, कृषि,  सडक, नाला, रोजगार जस्ता भौतिक पूर्वाधारलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको बताए ।

गाउँसभामा गाउँपालिकाको वडा नं १ का अध्यक्ष अक्षयलाल महतो, २ का मुक्तिनाथप्रसाद कुर्मी, ३ का जयप्रकाश चौरसिया, ४ का अनोज चौरसिया, ५ का मोहनराउत अहिर, कार्यपालिका सदस्य मान्ती देवी, कुसमीकुमारी देवी, धनपति तत्मिन, रीमाकुमारी देवी, अशोककुमार गुप्ता, शम्भुप्रसाद बरै, वडा सदस्य, कर्मचारीलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण रामप्रवेश साहले गरेका थिए ।

गाउँपालिकाले २९ करोड ५० लाख रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरिरहेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here