प्रस, वीरगंज, ९ असार/
वीरगंज महानगरपालिकामा एक दर्जनभन्दा बढी अवैध मनी चेन्जर सञ्चालनमा छन् । नेपाल राष्ट्र बैंक, वीरगंजले विगत लामो समयदेखि नवीकरण नगरे तापनि अवैधरूपमा सञ्चालित मनी चेन्जरहरूबाट सर्वसाधारण पीडित बनेका छन् ।
अवैध मनी चेन्जरहरूले अत्यधिक बट्टा काटेर सर्वसाधारणलाई ठगिरहेका छन् । मनी चेन्जरहरूले नेरुको भारु सटही गर्दा न्यूनतम पाँच रुपैयाँ बट्टा लिई कारोबार गरिरहेका छन् । अवैध मनी चेन्जरहरू बन्द नहुनुमा नेपाल राष्ट्र बैंक तथा प्रहरी प्रशासनबीच आन्तरिक मिलेमतो रहेको हुन सक्ने आशङ्का गरिएको छ ।
वीरगंजको घण्टाघर, जिल्ला प्रशासन कार्यालय जाने बाटो, आदर्शनगर, लिङ्करोड र पुरानो भन्सार क्ष्Fेत्रमा अवैध मनी चेन्जरहरू सञ्चालनमा रहेका स्रोतले बताएको छ ।
नेपाल राष्ट्र बैंकबाट मनी चेन्जरहरूले तोकिएको न्यून शुल्कमा भारु लिने गरेको तर मनी चेन्जरहरूले सयकडा रु पाँच बट्टा लिएर सर्वसाधारणलाई ठग्ने गरेका छन् । मनी चेन्जर सञ्चालकहरूले भारु सटही गर्दा मनपरी रकम असुल्ने गरे तापनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । भारु पाँच सय र दुई हजारका नोट नेपालमा प्रतिबन्ध रहे तापनि वीरगंजका अधिकांश मनी चेन्जरमा यी नोटहरू छ्याप्छ्याप्ती पाइन्छन् । अवैध मनी चेन्जरहरूमा भारु नेपाल राष्ट्र बैंक, रक्सौल बजार र अन्य सीमावर्ती बजारबाट सङ्कलन गरेर भरियामार्फत वीरगंज आउँछ । प्रायः प्रहरीले भारु नगदसहित भरियाहरूलाई पक्राउ गरेको समाचार सार्वजनिक भइरहेका छन् । त्यस्ता अधिकांश रकम हुन्डी कारोबारको हुने गरेको बताइन्छ ।