प्रस, निजगढ, ९ असार/

पाँच वर्षयतादेखि पटक–पटक एकै प्रकृतिको चोरीका घटना फेरि निजगढमा घटेको छ ।

मङ्गलवार दिउँसो निजगढ नपा–९ तेस्रोलाइनका गोविन्दप्रसाद खरेलको घरबाट करीब २६ लाखभन्दा बढीको सुनचाँदीका गरगहना तथा नगद चोरी भएको छ । बिहान १०ः३० बजे आफन्तकहाँ विवाहमा निम्तो मान्न गएको र बेलुकी ४ बजे घर आउँदा घरको मूल ढोका फोडेर घरका दराजहरूबाट सो सामान र नगद चोरी भएको पीडित खरेलले बताए ।

पत्नी र छोरीले घरमा राखेका सुनचाँदीका गरगहना र केरा बिक्री गरेर घर खर्च चलाउन र मल किन्न राखेको नेपाली ८० हजार र भारतीय आठ हजारसहित दराज फोडेर लगेको उनले बताए । खरेलको पक्की घरअगाडिको मूल ढोका हुँदै भित्री चोटा कोठामा राखेको दराज, आलमारीका कपडाहरू सबै यत्रतत्र छरपस्ट पार्दै गरगहना र नगद चोरी भएको घटनास्थलबाट देखिएको छ ।

त्यसैगरी, हिजो दिउँसो निजगढ नपा–७ लिचीटोलका जानुका सिग्देलको घरबाट करीब सात लाखभन्दा बढीको सुनचाँदीका गहनासहित नगद चोरी भएको छ । सुनचाँदीका गहनासहित दराजमा राखेको नगद २० हजार चोरी भएको पीडित सिग्देलले बताइन् । बिहानदेखि दिनभरि घरभन्दा लगभग चार सय मिटर पर पसल व्यवसाय गर्दै आएकी र हिजो छोरा काममा बाहिर निस्केको मौका छोपी चोरी भएको उनले बताइन् । पसलको काम सकेर राति ८ बजे घर जाँदा घरअगाडिको मूल ढोका र दराज फोडेर चोरले गरगहनासहित नगद चोरेर लगेको जानकारी
दिइन् ।

यस प्रकृतिका घटना निजगढमा लगभग पाँच वर्षयतादेखि हुँदै आएको छ । गर्मी र वर्षा यामको समयमा चोरी हुने एउटै प्रकृतिका घटना पाँच वर्षयता १२ वटाभन्दा बढी भएको देखिन्छ । यसअघि ८० लाखभन्दा बढी मूल्यको गरगहना र नगद चोरी भएको अनुमान छ । पीडित घरधनीहरूले अहिले पनि घटनामा संलग्न चोर समूहको अनुसन्धान गरी सार्वजनिक गर्दै चोरी भएका गरगहना, नगद उपलब्ध गराइदिन वा सोबापत क्षतिपूर्ति उपलब्ध गराइदिन इलाका प्रहरी कार्यालय, निजगढमा निवेदन दिएका छन् । तर यस घटनामा संलग्न चोर समूहको पहिचान गर्नसम्म इप्रका, निजगढले सकेको छैन ।

घटनाको अनुसन्धान गर्न प्रहरी परिचालन गरिसकेको इप्रका, निजगढका प्रहरी निरीक्ष्Fक सञ्जीव ओलीले बताए । चोर समूहले घरधनीहरूको राम्ररी रेकी गर्ने गरेको र निर्धक्क भएर चोरी गर्ने गरेको घटनाक्रमले देखाएकोले यसको अनुसन्धानमा प्रहरी चनाखो र सतर्क भएर अघि बढेको प्रनि ओलीको भनाइ छ ।

करीब डेढ वर्षअघि राजमार्ग र इप्रका, निजगढको कार्यालयबाट बढीमा एक सय मिटर पर रहेको धर्मेन्द्र होलसेल किरानापसलमा राति सटर फोडी नगद चोरी भएको थियो ।

पसलमा राखिएको सिसिटिभी क्यामेराबाट चोरी गरिरहेको भिडियो प्रहरीले लिएर गए पनि अझैसम्म पनि चोर पत्ता लाग्न सकेको छैन ।

पटक–पटक दिनदहाडै चोरीका घटनाले धनजनको सुरक्षा नभएको भन्दै घटनामा संलग्नको यथाशीघ्र पहिचान गरी कानूनी कारबाई गर्न निजगढवासीले प्रहरी प्रशासनलाई सचेत गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here