राधेश्याम पटेल, परवानीपुर, ४ असार/
पछिल्लो समय पेट्रोलको दाम दिन प्रतिदिन बढिरहेको अवस्थामा विद्युतीय दुई पाङ्ग्रे सवारीसाधनको कारोबार गुलजार भएको छ ।
पेट्रोलबाट चल्ने मोटरसाइकल तथा स्कूटरको बिक्रीमा बढोत्तरी भएको पाइएको छ । वीरगंज मुख्यालय स्थापना गरी व्यवसाय शुरू गरिएको जापानिज ब्रान्डको ओकिनावा ब्रान्डको स्कूटरको कारोबारमा पनि वृद्धि हुँदै गएको ओकिनावाको नेपालको आधिकारिक विक्रेता बिएचसी इन्टरनेशनल प्रालिले जनाएको छ ।
बिएचसी इन्टरनेशनल प्रालिका सञ्चालक अबुलहैस अन्सारीका अनुसार कम्पनीले गत २०७७ चैतदेखि भारतको गुजरातमा उत्पादन हुने जापानिज ब्रान्डको ओकिनावा ब्रान्डको स्कूटर बिक्री वितरण शुरू गरेकोमा १४ महीनामा करीब ८ करोडको कारोबार गरेको छ । नेपालको करीब २० मुख्य शहरमा स्थानीय विक्रेतामार्फत करीब एक हजारभन्दा बढी स्कूटर बिक्री वितरण भइसकेको उनले जानकारी गराए । कम्पनीले अहिले वीरगंजको गण्डक, बाराको कलैया, जीतपुर, विराटनगर, इटहरी, लहान, चन्द्रपुर, गौर, बुटवल, पर्साटाडी, काठमाडौंमा दुई ठाउँ, बनेपा गरी २० मुख्य शहरमा डिलरमार्फत कारोबार गरिरहेको जनाएको छ ।
सबैभन्दा बढी प्रेजप्रोको माग
ओकिनावाको अहिले नेपालमा छवटा मोडेलको स्कूटर बिक्री वितरण भइरहेको छ । एक महीनाभित्र करीब ४ लाख पर्ने ओकी ९० मोडेलको माग पनि बिक्री वितरण शुरू गर्ने कम्पनीले जनाएको छ । यसले नेपालको लागि सातौं मोडेलको रूपमा पहिचान कायम गरेको छ । हाल नेपालमा बिक्रीमा हुने छ मोडेलमा ३ लाख ४० हजार पर्ने आइप्राइज प्लस, २ लाख ६० हजार पर्ने प्रेजप्रो, सवा दुई लाख पर्ने रिज प्लस, २ लाख १५ हजार पर्ने डुअल, १ लाख ८० हजार पर्ने लाइट, १ लाख ७० हजार पर्ने आर ३० रहेका छन् ।
यस्तो छ विद्युतीय स्कूटरको माग बढ्नुको कारण
अहिले पेट्रोलको दाम बढ्दै गएपछि विद्युतीय सवारीसाधनमा सर्वसाधारणको आकर्षण बढ्दै गएको कारण कारोबार र माग बढेको कम्पनीको ठम्याइ छ । विद्युतीय स्कूटरको तीन वर्षको पूर्ण वारेन्टी छ, आकिनावाका छ मोडेलकै स्पीड ४५ देखि ९० प्रतिघण्टा किलोमिटर रहेको छ ।
स्कूटरको ७२ भोल्टको ब्याट्री पूर्ण चार्ज गरेपछि १७० किलोमिटर गुड्छ । ब्याट्री चार्ज गर्न ५ एम्पियरको टु पिनको सकेटसहितको चार्जरबाट जुन पनि ठाउँ अर्थात् घर, पसल, बाटोको पानपसलमा समेत चार्ज गर्न सकिनेछ । स्कूटर बिग्रिएको अवस्थामा मरमम्त सम्भारको लागि हरेक मुख्य शहरमा शोरूम सञ्चालनमा ल्याइएको छ ।
विद्युतीय स्कूटरको वार्षिक ३ सय रुपैयाँ नवीकरण शुल्क लाग्नेछ भने सवारी दर्ता निश्शुल्क रहेको छ ।