प्रस, निजगढ, २ जेठ/
ठूला राजनीतिक दलका नेताहरूमा इमानदारिता नभएकै कारण निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि अनेक समस्या आएको मधेस प्रदेशका मुख्यमन्त्री लालबाबू राउत गद्दीले बताए ।
बाराको निजगढमा बिहीवार आयोजित मुख्यमन्त्रीसँग निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे साक्षात्कार कार्यक्रममा मन्तव्य राख्दै मुख्यमन्त्री गद्दीले सो आरोप लगाएका हुन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि अन्य कहींकतै विकल्प नभएको बताउँदै उनले सर्वोच्च अदालतको पूर्ण पाठमा सकारात्मक निर्णय आउनेमा आफू आशावादी रहेको बताए ।
करीब अढाई दशकदेखि टाँगियाबस्तीमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भनिए पनि सर्वोच्च अदालतको अन्यत्र स्थान परिवर्तन गर्नुपर्ने निर्णयले यस क्षेत्रका बासिन्दाको भावनामा ठेस लाग्नु, मन दुख्नु स्वाभाविक हो, मुख्यमन्त्री गद्दीले भने ।
अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना बारा वा मधेस प्रदेशको मात्र नभई समग्र मुलुककै भाग्य र भविष्यसँग जोडिएको महŒवपूर्ण राष्ट्रिय गौरवको आयोजना भएकोले यसको विकल्प अन्यत्र हुनै नसक्ने मुख्यमन्त्री गद्दीको भनाइ थियो । मुख्यमन्त्री गद्दीले सङ्घर्षको पक्षमा ऐक्यबद्धता जनाउँदै केहीबेर रिले अनशनमा समेत बसेका थिए ।
राजमार्ग बन्दले मात्र तुरुन्तै सबै समस्या समाधान नहुने भन्दै उनले हामीले सर्वोच्च अदालतको पूर्ण पाठको प्रतीक्षा गर्नैपर्छ भने । त्यसपछि मात्र अन्य कार्य अघि बढाउनुपर्ने मुख्यमन्त्री गद्दीले धारणा राखेसँगै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण यथाशीघ्र निर्माण गर्न माग राख्दै २० दिनदेखि दैनिक तीन घण्टा निरन्तर गरिएको सडक बन्द आज बिहीवारबाट स्थगित भएको सङ्घर्षरत समितिको तर्फबाट संयोजक एकबहादुर श्रेष्ठले घोषणा गर्दै रिले अनशन भने निरन्तर जारी रहने जानकारी गराए ।
अहिले सडकमा सामान्य र थोरै सङ्ख्यामा नागरिक देखिए पनि अदातलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबन्ने नियतले पूर्ण पाठ ल्याए सशक्तरूपमा आन्दोलन हुने संयोजक श्रेष्ठले चेतावनी दिए ।
आफू बारा र यसै क्षेत्रको प्रदेश सांसद रहेकोले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने पक्षमा आफू जहिल्यै पनि रहेको त्रिलोकी चौधरीले बताए । विभिन्न बहानामा विमानस्थल अन्यत्र सारिने हो भने यो षड्यन्त्रपूर्ण खेल भएको बुझ्नुपर्ने भन्दै उनले आवश्यक परे सङ्घर्षको बागडोर समाल्न आफू पछि नपर्ने प्रदेश सांसद चौधरीले बताए ।
हामी अदालतको सम्मान गर्छौं । मुलुक र आम नागरिकको उन्नति, प्रगतिको बाधक बनेर अदालतले निर्णय गर्छ भने, त्यस्ता निर्णय कदापि मान्न नसकिने सङ्घर्षरत समितिका कोषाध्यक्ष विनोद भारतीले बताए ।
जतिसक्दो चाँडो पूर्ण पाठ अदालतले ल्याउनुप¥यो । अन्यथा अहिले मुख्यमन्त्रीको आग्रहमा स्थगित गरिएको सडक बन्द अझै कडारूपमा ल्याउन बाध्य हुने उनले बताए ।
कार्यक्रममा निजगढकी पूर्वउपप्रमुख लीलादेवी लामिछाने, महिला समाजसेवी सावित्री भारती, कोल्हवी सरोकार समितिका संयोजक ढुंडीराज उप्रेतीलगायतले मन्तव्य राखेका थिए ।
सङ्घर्षरत निजगढ सार्वजनिक सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन स्वतन्त्र युवा तथा विद्यार्थी सरोकार समितिका संयोजक जयराम कुमरले गरेका थिए ।