प्रस, निजगढ, १ असार/

टाँगियाबस्तीमा विद्युत् लाइनका लागि पोल गाड्ने र विद्युत् प्रसारण गर्ने कार्यलाई डिभिजन वन कार्यालय, बाराले रोकेपछि टाँगियावासीको मागलाई लिएर स्थानीयहरूसँगै बाराका सांसद रामबाबू यादव हिजो मुख्यमन्त्री कार्यालय, जनकपुर पुगेका थिए । बस्ती रहुन्जेलसम्म नागरिकले राज्यबाट पाउनुपर्ने सेवासुविधाबाट वञ्चित गर्न नहुने भन्दै आफूहरू मुख्यमन्त्रीको ध्यानाकर्षण गराउन आएको टाँगियाबस्ती सरोकार समितिका अध्यक्ष रमेश सापकोटा र स्थानीय कृष्ण बुढाथोकीले बताए ।

डिभिजन वन कार्यालयलाई कुनै जानकारीसमेत नदिई टाँगियाबस्तीमा विद्युत् लाइनका लागि पोल गाड्नेलगायतका गतिविधि भइरहेको पाइएपछि तत्कालै रोक लगाएको डिभिजन वन कार्यालय, बाराका प्रमुख मन्जुर अहमदले बताए ।

उनले वन मन्त्रालयसँग कानूनी अड्चन र समस्या रहेको पाइएकोले सो समस्या समाधान गर्न भनेको बताए । हामी विकासका बाधक र विरोधी होइनौं । तर कानूनी प्रक्रिया जो कोहीले पनि पूरा गर्नुपर्ने उनको भनाइ छ ।

टाँगियाबस्तीमा निर्माण हुने भनिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अन्यत्र स्थानको खोजी गर्न सर्वोच्च अदालतले गत जेठ १२ गते निर्णय गरेपछि राज्यबाट आफूहरूलाई जग्गाधनी पुर्जा उपलब्ध गराउनुपर्ने जस्ता कुरा टाँगियावासीले उठाउन शुरू गरेका छन् ।

यता अदालतको पूर्णपाठ आउन नपाउँदै अधिकांश टाँगियावासीले भने चार दशकअघि वृक्षारोपण हुर्काउन राज्यले वन क्षेत्रमा राखेको ४०/५० छाप्रा, टहराबाट अहिले एक हजार ४७६ घरधुरीसँगै ७३१ बिघा १४ कट्ठा क्षेत्रफल वनको जमीनमा रूखबिरुवा मासेर खेतीयोग्य जमीन बनाउँदै वर्षौंदेखि खेतीपाती गर्दै आइरहेका छन् ।

निजगढ विमानस्थल निर्माणका लागि चाहिने कुल ११ हजार ८७५ बिघा क्षेत्रफलमध्ये पहिलो चरणको लागि १९ सय हेक्टर अर्थात् दुई हजार ८५० बिघा वन क्षेत्रफल आवश्यक पर्ने जनाइएको छ । निजगढ विमानस्थल निर्माण गरिने क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गको निजगढबाट पसाहा पुलसम्म बाक्लो र घना वनजंगल देखिए पनि विमानस्थल निर्माण गरिने क्षेत्रको लगभग बीच भागमा उक्त टाँगियाबस्ती रहेको छ भने कैयौं स्थानमा झाडी, बुट्यान, चउरले मात्र ढाकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here