प्रस, वीरगंज, २९ जेठ/

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने माग राख्दै स्थानीयहरूले १७ दिनदेखि निरन्तर पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गर्दै अएका छन् ।

गत जेठ १२ गते आएको सर्वोच्च अदालतको फैसलापछि जेठ १३ गतेपछि हालसम्म दैनिक अपराह्न ३ देखि साँझ ५ बजेसम्म पूर्व–पश्चिम राजमार्गको निजगढ बजारमा चक्काजाम हुँदै आएको छ ।

निजगढ सार्वजनिक सरोकार समिति र स्वतन्त्र युवा विद्यार्थी सरोकार समितिले संयुक्तरूपमा सधैं दुई घण्टा चक्काजाम गर्दै आएको स्वतन्त्र युवा विद्यार्थी सरोकार समितिका संयोजक जयराम कुँवरले जानकारी गराए ।

जबसम्म सरकार वा न्यायालयबाट निजगढ विमानस्थल बनाउनुपर्ने अर्को निर्णय आउँदैन, तबसम्म आफूहरूको सङ्घर्ष जारी रहने उनले जानकारी गराए ।

निजगढ सार्वजनिक सरोकार समितिका अध्यक्ष यज्ञबहादुर श्रेष्ठका अनुसार निजगढमा विमानस्थल बनाउन आफूहरूले सडकदेखि काठमाडौंसम्म दबाबमूलक कार्यक्रम जारी राखेको बताए ।

उनले गत जेठ २७ र २८ गते काठमाडौं डेलिगेशन गएर प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेमबहादुर आले, प्रमुख राजनीतिक दलका अध्यक्षहरू केपीशर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायतलाई भेटेर विमानस्थल जसरी पनि बनाउनुपर्ने आफूहरूले माग राखेको जानकारी गराए । “हामीले निरन्तर खबरदारी तथा दबाबमूलक कार्यक्रम जारी राखेका छौं, काठमाडौं गएको डेलिगेशनसँग प्रारम्भिक छलफल पनि भएको छ,” उनले भने, “सकारात्मक प्रतिक्रिया पाएका छौं, सकभर केही पूर्व सारेर निजगढमा विमानस्थल बनाउनुपर्ने माथिल्लो तहमा सहमति बनिरहेको छ ।” दैनिक हुने चक्काजाम कार्यक्रममा निजगढ आसपासका करीब चार सय स्थानीय सहभागी भइरहेको निजगढवासीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here