प्रस, वीरगंज, २९ जेठ/
प्रधानमन्त्री शेरबहादुर देउवाले यसै साताभित्रै नागरिकतासम्बन्धी समस्या समाधान हुने बताएका छन् ।
जसपाका सांसद प्रदीप यादव, नरमाया ढकाल र रानी मण्डलको टोलीसँग आइतवार भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले यस्तो आश्वासन दिएका हुन् ।
सांसदत्रयले आइतवार प्रधानमन्त्री देउवालाई भेटेर नागरिकताको समस्या सम्बन्धमा ध्यानाकर्षण गराएका थिए ।
भेटमा प्रम देउवाले नागरिकतासम्बन्धी उठेका समस्यालाई समाधान गरिने आश्वासन दिएको सांसद यादवले बताए ।
प्रम देउवालाई सांसदत्रयको टोलीले जन्मसिद्ध नागरिकका सन्तानले भोगिरहेको समस्याबारे अवगत गराएका थिए ।
बुबा, आमा नागरिक तर छोराछोरी, नातिनातिना भने गैरनागरिक भएको पीडाका साथै उनीहरूको अध्ययनमा प्रभाव परेको र आफ्नो नैसर्गिक अधिकारबाट वञ्चित भएर बस्नुपरेको पीडा सुनाएका थिए ।
कतिपय जन्मसिद्ध नागरिकका छोराछोरी, नातिनातिनाहरूले अदालतको ढोका ढकढक्याएको र अदालतबाट नागरिकता दिन आदेश हुँदा पनि गृह प्रशासनको हवाला दिएर स्थानीय प्रशासनले नागरिकता दिनबाट वञ्चित पारेको गुनासो पनि पोखेका थिए ।
सांसदहरूको गुनासो सुनेर प्रम देउवाले यसै साता जन्मसिद्ध नागरिकता समस्याको समाधान गर्ने प्रतिबद्धता जाहेर गरेको सांसद यादवले प्रतीकलाई बताए ।
यसअघिको एमाले सरकारले अध्यादेशबाट नागरिकता विधेयक ल्याएको थियो ।
एमालेले लोसपालाई रिझाउन नागरिकता विधेयक संसद्मा पेश गरेको थियो तर सो सम्बन्धमा सर्वोच्चमा रिट परेर अहिलेसम्म विचाराधीन अवस्थामा छ । प्रम देउवाले चालू बजेट अधिवेशनबाटै नागरिकता विधेयक पारित गराउने आश्वासन दिएको सांसद यादवले बताए ।